काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत- माफियाहरुले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् । खाडीचौरमा ढलेको पोल र बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको छ ।

गत फागुन ६ गते राति सुनकोशीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनअन्तरगत खाडीचौर-अँधेरी खण्डमा पर्ने ६ नम्बर खम्बा ढल्यो । सो खम्बा ढल्नुभन्दा अघि त्यहाँको टावर जोखिममा परेका कारण खम्बाको जगमा जाली राखेर मर्मत गरिँदै थियो ।

फागुन ६ गते राति खम्बाको जगमा जाली राखेर कामदारहरु घरतर्फ लागे । तर, कामदारहरु घर फर्किएपछि मध्यरातमा शंकास्पद रुपमा टावर ढल्यो । यो टावर नढलेको भए ७ गते मर्मतको काम सकिने थियो ।

प्राधिकरणका प्राविधिकहरुले सो खम्बा प्राकृतिक रुपमा नभई नियतवस जग फोडेर ढालिएको निश्कर्ष निकालेका छन् । सो समयमा कुनै हवाहुरी नआएको र अन्य कुनै प्राविधिक कारणसमेत नदेखिँदा प्राधिकरणलाई संशयमा पारेको हो । यसबारे प्राधिकरणका अधिकारीहरुले आन्तरिक रुपमा अनुसन्धान अधि बढाएको कुलमान निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

ललितपुरमा अर्को काण्ड

नियतवस फेरि यस्तै अर्को घटना मंगलबार बिहानै भएको छ । ललिपपुरको इमाडोल-१ स्थित फिडर केबल विनाकारण पडि्कएको छ । गत कात्तिकमा पनि यस्तै शंकास्पद घटना भएको थियो ।

विद्युत प्राधिकरणले यो घटना कसरी भएको भनेर खोजी गर्दैछ । अहिले कतै कुनै प्राविधिक समस्या थियो कि थिएन भनेर पेट्रोलिङ भइरहेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म कुनै त्यस्तो प्राविधिक कारण प्राविधिकहरुले फेला पारेका छैनन्, जसका कारण यति ठूलो फिडर केबल जलोस् ।

मंगलबार बिहानको यो घटनाले बानेश्वर सव स्टेशनका २ वटा १८ एमभीए क्षमताका ट्रान्सर्फमर बन्द भएका छन् । र, यो ट्रान्सर्फमरबाट वितरण गरिने ३६ एमभीए बराबरको बिजुलीको आपूर्ति बन्द भएको छ । जसले गर्दा बानेश्वर एरियामा लोडसेडिङ भएको हो ।

शंकास्पद घटना

इमाडोलको फिडर जलेको घटना शंकास्पद देखिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । विशेष गरी काठमाडौंमा लोडसेडिङ अन्त्यको घोषणा भएपछि लगातार यस किसिमका घटना भइरहेका छन् । विभिन्न समयमा विना प्राविधिक कारण प्रणालीमा समस्या ल्याउने प्रयत्न भइरहेको देखिएको छ ।

यसबारे जिज्ञासा राख्दा प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी प्राविधिक रुपमा वितरण प्रणाली चुस्त भएकै समयमा ठूला किसिमका घटना दोहोरिनुले केही संशय पैदा भएको स्वीकार्छन् ।

‘विद्युत प्रणालीमा कहिलेकाँही प्राविधिक समस्या त आउने नै गर्छन्, तर यस्ता घटनाहरु बारम्बार आइरहनुले हाम्रो विद्युतीय संरचनाहरुको सुरक्षाप्रति गम्भीर चासो र संशय उत्पन्न गराएको छ’ अधिकारीले भने, ‘किन यस्ता घटना दोहोरिइरहेका छन् भनेर अब सुक्ष्म निगरानी गर्नुपर्ने अवस्था देखिएको छ ।’

विद्युत वितरण प्रणालीलाई चुस्त राख्न प्राधिकरणले पछिल्लो समयमा विभिन्न प्रयत्न गरिरहेको छ । तर, प्राधिकरणको वर्तमान काम गराईसँग असन्तुष्ट भएकाहरुले यस किसिमको घटना गराइरहेको आशंका गरिएको छ ।

काठमाडौंमा यो वर्ष लोडसेडिङ नहुने पक्का भइसकेको छ । बिजुलीको चरम अभाव हुने फागुनको मध्य अवधिलाई प्राधिकरणले पार लगाइसकेकको छ । अब हिउँ पग्लिएर नदीहरुमा पानीको बहाव बढ्ने भएकाले उत्पादन बिस्तारै बढ्दै जाने अवस्था छ ।

यही कारण जसरी पनि प्राधिकरणको वर्तमान नेतृत्वसहित उनको टीमलाई असफल पार्न प्रणालीलाई बिगार्ने गरी विभिन्न बदमासीहरु भइरहेका छन् । यसलाई अब बेलैमा छानविनमार्फत नियन्त्रण नगरे षडयन्त्रकै माध्यमबाट काठमाडौंलाई फेरि अन्धकारमा पुर्‍याउने अदृश्य शक्ति सफल हुने निश्कर्ष प्राधिकरणकै प्राविधिकहरुले पनि निकालेका छन् ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी विद्युत प्रणाली निकै संवेशदनशील हुने भएकाले सानो बदमासी गर्दा पनि त्यसको असर ठूलो पर्ने बताउँछन् । पछिल्ला समयमा लगातार विभिन्न मानवीय बदमासीले उत्पन्न समस्या बढ्दै जाँदा सबै पक्ष यसमा चनाखो हुनुपर्ने अवस्था आएको बताउँछन् ।

प्रहरी प्रशासनले पनि विद्युत प्रणालीमा मानवीय बदमासीमार्फत हुन सक्ने अपराधलाई नियन्त्रण गर्नुपर्ने देखिएको छ । त्यसैगरी प्राधिकरण र ऊर्जा मन्त्रालयले पनि यस्ता घटनाहरुबारे छानविन गरेर घटनालाई रोक्न चासो देखाउनुपर्ने अवस्था आएको छ । नत्र फेरि उत्पादन भएको बिजुली पनि वितरण नहुने अवस्था आउन सक्ने देखिएको छ ।

प्राधिकरणको वर्तमान नेतृत्वलाई असफल गर्न रचिएका सम्भावित षडयन्त्रलाई पहिले नै पहिचान गर्नुपर्ने सरोकारवाला पनि बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!