रुकुम, २४ कात्तिक । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो । बम प्रहार भएपनि कुनै घटना भने हुन पाएन ।
चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सडकमाथिबाट सुतली बम प्रहार भएको उम्मेदवार शर्माका सहयोगी बसन्त शर्माले जानकारी दिए ।
बम कसले हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताए । बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहार गरेको आशंका गरिएपनि पुष्टि हुन सकेको छैन ।
यसैबीच उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध गरेको छ ।
एक विज्ञप्ती जारी गरी समितिले उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएको छ ।