- रबिन कटेल/संगालोखबर

धनकुटा, २१ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम गठबन्धनले धनकुटामा सक्रियता बढाएको छ । सोमबार जिल्लाका सातवटै स्थानीय तहमा चुनाव लक्षित ‘संयुक्त वाम गठवन्धन भेला’ गरिएको छ ।

आगामी मंसिर २१ गते हुँने दुवै चुनावलाई लक्षित गरेर एमाले र माओवादी केन्द्र सम्मिलित गठबन्धले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा कार्यक्रम गरेको हो ।

Advertisement

चुनावमा बाम गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउँन योजना बनाएर अघि बढ्ने उद्धेश्यले सातै तहमा भेला गरिएको एमाले प्रचार बिभाग प्रमुख नैन विश्वकर्माले संगालोखबरलाई जानकारी दिएका छन ।

सात तहमा १४ समिति

बाम गठबन्धनको भेलाले धनकुटाका सात स्थानीय तहमा १४ वटा चुनावी समिति निर्माण गरेको छ ।

सातै तहमा निर्वाचन मूल परिचालन समिति र चुनाव प्रचार–प्रशार समिति निर्माण गरिएको गठबन्धनले जनाएको छ । एमालेले चार र माओवादी केन्द्रले तीन स्थानीय तहमा निर्वाचन मूल परिचालन समितिको नेतृत्व गरेका छन ।

धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका र चौविसे गाउँपालिकामा एमालेका स्थानीय नेता निर्वाचन मूल परिचालन समितिको संयोजक भएका छन । त्यस्तै पाख्रीवास नगरपालिका, खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा माओवादी केन्द्रका स्थानीय नेताले समिति संयोजकको भूमिका पाएका छन ।

एमालेबाट संयोजक भएको स्थानीय तहको समितिमा माओवादीबाट सह–संयोजक र माओवादी केन्द्रबाट संयोजक भएको स्थानीय तहमा एमालेबाट सह–संयोजक रहनेगरी निर्वाचन मूल परिचालन समिति बनाईएको हो ।

नगर र गाउँपालिका प्रमुख नै बाम गठबन्धनको प्रचार संयोजक

धनकुटाका सातवटै स्थानीय तहमा निर्वाचित स्थानीय तहका प्रमुखको संयोजकत्वमा बाम गठबन्धनको चुनाव प्रचार–प्रशार समिति निर्माण भएको छ । स्थानीय तहको निर्वाचनबाट बिजयी तीन नगरपालिका र चार गाउँपालिका प्रमुखहरुलाई बाम गठबन्धनले चुनाव प्रचार–प्रशार समिति संयोजक बनेको हो ।

स्थानीय तह निर्वाचनमा धनकुटाका तीन नगर र चार गाउँपालिका मै एमाले बिजयी भएकाले एमाले नेतासमेत रहेका गाउँ र नगर प्रमुखहरुलाई नै प्रचार–प्रशार संयोजक बनाईएको गठबन्धनले जनाएको छ ।

धनकुटाका सातै तहका बाम गठबन्धनको प्रचार समिति संयोजकहरु ।

धनकुटा नगर प्रमुख चिन्तन तामाङ, महालक्ष्मी नगर प्रमुख पर्शुराम नेपाल, पाख्रीवास नगर प्रमुख बिर्षमान राई र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका प्रमुख मनोज राई एमाले धनकुटाका सचिवालय सदस्य हुन ।

त्यस्तै छथर जोरपाटी गाउँपालिका प्रमुख शेरबहादुर लिम्बु र चौविसे गाउँपालिकाका प्रमुख खजिन्द्र राई धनकुटा एमाले सचिवालयका बैकल्पिक सदस्य हुन । सात वटै स्थानीय तहका प्रचार उप–संयोजकमा माओवादी केन्द्रका स्थानीय नेतालाई राखिएको छ ।

महालक्ष्मीमा गठबन्धनको भेला, दुई समिति निर्माण

धनकुटाको महालक्ष्मी नगरपालिकामा भएको संयुक्त बाम गठनबन्धनको भेलाले चुनावलाई लक्षित गरी दुईवटा समिति निर्माण गरेको छ ।एमाले महालक्ष्मी नगर संगठन कमिटि संयोजक ईन्द्र पौडेलको संयोजकत्वमा ५ सय १ सदस्य निर्वाचन मूल परिचालन समिति निर्माण गरिएको छ ।

समितिको सह–संयोजकमा माओवादी केन्द्रका स्थानीय नेता होमबहादुर थापा छन ।  त्यस्तै महालक्ष्मी नगर प्रमुख एवं एमाले धनकुटाका सचिवालय सदस्य पर्शुराम नेपालको संयोजकत्वमा ६६ सदस्यीय चुनाव प्रचार–प्रशार समिति निर्माण गरिएको छ ।

समितिको सह–संयोजकमा माओवादी केन्द्रका स्थानीय नेता प्रेमबहादुर खड्का छन । यसैवीच भेलामा बोल्ने बक्ताहरुले जनताको पक्षमा काम गर्ने बाम गठबन्धनका उम्मेद्वारलाई मतदान गरी बिजयी गराउँन आग्रह गरेका छन ।

सो अवसरमा प्रदेशसभाका लागि धनकुटा २ नं. क्षेत्रका उम्मेरदवार इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति प्रमुख एवं एमाले सचिवालय सदस्य टंक चुहान, महालक्ष्मी नगर प्रमुख एवं एमाले सचिवालय सदस्य पर्शुराम नेपाल, एमाले नेतृ तारा तितुङ, माओवादी केन्द्रका नेता रुपक कार्की, लीला माखारा लगायतले बाम गठबन्धनका उम्मेद्वारलाई जिताउँन आग्रह गरेका छन ।

चौविसेमा गठबन्धनको भेला : उम्मेद्वार राईको प्रतिवद्धता 

धनकुटाको चौविसे गाउँपालिकामा भएको संयुक्त वाम गठवन्धनको भेलाले एमाले सचिवालय सदस्य एवं समानुपातिक उम्मेदवार विना राई संयोजक र नेकपा माओवादी केन्द्रका ममिन्द्रकुमार लिम्वु सह–संयोजक रहेको ७ सय ८५ सदस्यीय निर्वाचन मूल परिचालन समिति निर्माण गरेको छ ।

चौविसेमा एमालेका खजिन्द्र राई संयोजक तथा नेकपा माओवादी केन्द्रका दलवहादुर मगर सह–संयोजक रहेको ७५ सदस्यीय निर्वाचन प्रचार–प्रशार समिति बनाईएको छ ।

भेलालाई संबोधन गर्दै गठबन्धन तर्फका एमाले १ नम्बर क्षेत्रका उम्मेद्वार निरन राईले चौविसे क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन । प्रचुर सम्भावना रहेर पनि चौविसे क्षेत्र ओझेलमा रहेको बताउँदै राईले चौविसे क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक पर्यटन प्रवद्र्धनमा योजना बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन ।

आधुनिक कृषि र बजार ब्यबस्थापन गरी कृषकहरुको जीवनस्तर उकास्ने र चौबिसे क्षेत्रको भाषा÷संस्कृति संरक्षण गर्न पाठ्यक्रम तयार गरेर बिद्यालयलाई उपलब्ध गराउँने उनको प्रतिवद्धता छ ।

यता भेलालाई माओवादी केन्द्रका कार्यवहाक ईन्चार्ज उज्वल किराती, एमाले उपाध्यक्ष दुर्गा  लिङ्खा, नेकपा एमालेका समानुपाति उम्मेदवार विना राई, नेकपा माओवादी केन्द्रका कुशुम  श्रेष्ठ, एमाले एमाले प्रचार बिभाग प्रमुख नैन विश्वकर्मा, चौविसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायतले सम्वोधन गर्दै बाम गठबन्धनका उम्मेद्वारलाई जिताउँन अपिल गरेका छन ।

उनीहरुले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ सुर्य चिन्हमा र समानुपातिक तर्फ आ–आफ्नै पार्टीको चिन्हमा मतदान गरी संयुक्त वाम गठवन्धनका उम्मेदवारलाई बिजयी गराउँन आग्रह गरेका हुन ।

सहीदभूमीको पिप्लेमा बाम गठबन्धनको भेला   

धनकुटाको खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउपालिकाको छिन्ताङ्ग स्थित पिप्ले डाडाँमा संयुक्त वाम गठबन्धनको भेला सम्पन्न भएको छ । एमाले खाल्सा छिन्ताङ सहीदभूमी गाउँ संगठन कमिटि संयोजक वंगला राईको अध्यक्षतामा भएको भेलाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावी रणनीतिका बारेमा छलफल गदै चुनावी समिति निर्माण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष एवं एमाले सचिवालय सदस्य मनोज राई संयोजक र माओवादी केन्द्रका सचिवालय सदस्य भरतसिंह राई सह–संयोजक रहेको चुनाव प्रचार–प्रशार समिति गठन भएको हो ।

भेलामा एमाले धनकुटाका सचिवालय सदस्य अर्जुन राई, रुपलाल राई, जिल्ला सदस्य बम राई, माओवादी केन्द्र धनकुटाका सचिवालय सदस्य प्रकास राई, प्रेम राई, सुस्मा किराती लगायतले बाम गठबन्धनका उम्मेद्वारलाई जिताउँन सवै मतदाताहरुलाई आग्रह गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!