इलाम, १६ कात्तिक । आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द (वाम गठबन्धन)को पकड बलियो देखिएको छ ।

Advertisement

गत असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत तुलना गर्दा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धनको मत नेपाली कांग्रेसको भन्दा निकै अघि देखिएको हो ।

अब हुने निर्वाचनको क्षेत्र निर्धारण गर्दा सबैभन्दा सानो इकाई वडालाई नै लिइएकाले असार १४ को निर्वाचनमा वडाध्यक्षले ल्याएको मतका आधारमा चुनावी अंकगणित आँकलन गर्न सकिन्छ ।

यद्यपि, एउटै दलका वडाध्यक्ष, सदस्यहरू र स्थानीय तहका प्रमुख–उपप्रमुखले त्यही वडामा ल्याएको मत नै फरक–फरक हुने भएकाले कुनै पनि भूगोलमा फलानो दलको मत यति नै हो भनेर यकिन गर्न चाहिँ मुस्किल पर्छ ।

वडाध्यक्षहरूले ल्याएको मतलाई आधार मान्दा जिल्लाका सबै निर्वाचन क्षेत्रमा एमाले एक्लै पनि कांग्रेसभन्दा अगाडि देखिन्छ । जिल्लाका अधिकतर वडामा तेस्रो स्थानमा रहेको माओवादीको मत निर्वाचन क्षेत्रको तहमा एमालेको मतसँग जोड्दा वाम गठबन्धनको मत कांग्रेसको भन्दा अझ धेरै अन्तरले माथि पुग्छ ।

वाम गठबन्धनले इलामसहित मेची अञ्चलका ताप्लेजुङ, पाँचथर र झापामा पनि राप्रपासँग चुनावी तालमेल गरेकाले राप्रपाको मत पनि वाम गठबन्धनमै जोडिनेछ ।

तर, स्थानीय तह निर्वाचनपछि राप्रपा दुईधारमा विभाजित भएकाले कुन धारको मत कता जान्छ भन्ने चाहिँ यकिन छैन ।सबै वडाध्यक्षहरूले ल्याएको मत योग गरी वाम गठबन्धन र कांग्रेसको मत तुलना गर्दा प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र १ मा वाम गठबन्धनभन्दा कांग्रेस ११ हजार २ सय २४ मतले पछि देखिन्छ ।

प्रतिनिधिसभाकै क्षेत्र २ मा ८ हजार ३ सय ४७ मतले गठबन्धन कांग्रेसभन्दा अघि छ । प्रदेशसभातर्फ क्षेत्र १ को १ मा गठबन्धन ६ हजार ९ सय २८ मतले कांग्रेसभन्दा अघि छ भने क्षेत्र १ को २ मा पनि गठबन्धन नै कांग्रेसभन्दा ४ हजार ३ सय ४० मतले अघि छ ।

क्षेत्र २ को १ मा गठबन्धन कांग्रेसभन्दा ३ हजार १ सय ३३ मत र क्षेत्र २ को २ मा पनि गठबन्धन नै कांग्रेसभन्दा ५ हजार ५ सय ४ मतले अघि देखिएको छ ।

स्थानीय तह निर्वाचनमा जिल्लाका सबै ८१ वडामा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीचमै भएको थियो । जिल्लाका ८१ वडामा एमालेबाट ४७ र कांग्रेसबाट ३१ वडाध्यक्ष विजयी भएका थिए ।

माओवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टी १–१ वटा वडाको वडाध्यक्षमा विजय भएका थिए । आउँदो निर्वाचनमा पनि वाम गठबन्धन र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

अहिले जिल्लामा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभातर्फ क्षेत्र १ मा सूर्याेदय नगरपालिका, सन्दकपुर, माइजोगमाई, रोङ गाउँपालिका, माई नपाका वडा १, २, ३, ४, ५, ९, १० र इलाम नपाको वडा १० समेटिएको छ ।

क्षेत्र १ मा समेटिएको सूर्याेदय र माई नपासहित माइजोगमाई र सन्दकपुर गाउँपालिकाको स्थानीय तह निर्वाचनमा एमालेले प्रमुख–उपप्रमुखसहित बहुमतमा विजय हासिल गरेको थियो ।

इनपा–१०, माई नपा १, २, ४, ५, ९ मा एमाले तथा ३ र १० वडामा कांग्रेसका वडाध्यक्ष विजयी भएका थिए । रोङ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षसहित बहुमतमा कांग्रेस विजयी भएको थियो ।

प्रतिनिधिसभा क्षेत्र १ मा ३९ वडा छन् । यो क्षेत्रका सबै वडामा गरी एमालेको जम्मा मत ३० हजार १ सय ४८ छ । यसमा माओवादीको ५ हजार १ सय ७५ जोड्दा कुल ३५ हजार ३ सय २३ हुन्छ ।

यहाँ कांग्रेसको २४ हजार ९९ मत छ भने संघीय समाजवादी फोरमको २ हजार ८ सय २१ र राप्रपाको १ हजार १३ मत छ । कांग्रेसले संघीय समाजवादी फोरमका जिल्ला अध्यक्षलाई नै यहाँ प्रदेशको उम्मेदवार बनाएपनि उनी फोरम परित्याग गरी कांग्रेसमै गएकाले फोरमको मत उनलाई जाने देखिँदैन ।

प्रतिनिधिसभाको क्षेत्र २ मा देउमाई नगरपालिका, फाकफोकथुम, माङ्सेबुङ, चुलाचुली गाउँपालिका, माई नगरका ६, ७, ८ र इलाम नपाका १, २, ३, ४, ५, ६, ७, ८, ९, ११ र १२ वडा पर्छन् ।

स्थानीय निर्वाचनमा देउमाई र चुलाचुलीमा एमालेका प्रमुख–उपप्रमुखसहितको बहुमत आएको छ भने माङ्सेबुङ तथा फाकफोकथुममा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

१२ वटा वडामध्ये वडा १० बाहेक ११ वटा वडा यही क्षेत्रमा समेटिएको इनपाको प्रमुख–उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका थिए ।

इनपाको वडा १, २, ५, ६ र ९ मा एमालेका वडाध्यक्ष विजयी भएका थिए भने वडा ३, ४, ७, ८, ११ र १२ को वडाध्यक्षमा कांग्रेसले बाजी मारेको थियो । यसै क्षेत्रमा रहेको माई नपाको वडा ६, ७ र ८ मा एमालेका वडाध्यक्ष विजयी भएका थिए ।

प्रतिनिधिसभातर्फ क्षेत्र २ मा एमालेको मत २७ हजार ७ सय १ छ भने कांग्रेसको २६ हजार १ सय ९३ मत छ । माओवादीको ६ हजार ८ सय ३९ मत एमालेसँग जोड्दा वाम गठबन्धनको ३४ हजार ५ सय ४० मत पुग्छ ।

यहाँ गठबन्धनमै जाने सम्भावना रहेको राप्रपाको मत १ सय ६० छ । फोरमको २ हजार २ सय ७८ र राष्ट्रिय जनमुक्ति पार्टीको १ हजार ९ मत छ ।

क्षेत्र १ को प्रदेशसभा १ का माइजोगमाई र सन्दकपुर गाउँपालिकामा एमालेका अध्यक्ष–उपाध्यक्ष बहुमतसहित विजयी भएका थिए । यसैअन्तर्गतको सूर्याेदय नपाका १, २, ३, ९, १० र ११ वडामध्ये २, ३, ९, १०, ११ र इनपाको १० वडामा एमालेकै वडाध्यक्ष विजयी थिए ।

सूनपा १ मा भने कांग्रेसका वडाध्यक्ष विजयी बनेका थिए । यो क्षेत्रमा एमालेको कुल मत १६ हजार १ सय २८ छ भने कांग्रेसको ११ हजार ३ सय ३१ छ ।

माओवादीको २ हजार १ सय ३१ मत एमालेको सँग जोड्दा गठबन्धनको मत १८ हजार २ सय ५९ हुन्छ । यहाँ फोरमको १ हजार ७ सय ६३ र राप्रपाको ५ सय ७१ मत छ ।

क्षेत्र १ को प्रदेशसभा २ मा रोङ गाउँपालिकाका सबै वडा, सूर्याेदय नपाका वडा ४, ५, ६, ७, ८, १२, १३, १४ तथा माई नपाका वडा १, २, ३, ४, ५, ९ र १० वडा समेटिएका छन् ।

यीमध्ये रोङ गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षसहित कांग्रेसको बहुमत छ भने सूनपाका वडा ४, ५, ६, ८, १२ मा एमाले, १३ र १४ मा कांग्रेसका वडाध्यक्षले जितेका थिए ।

माई नपाका वडा १, २, ४, ५, ९ र १० मा एमाले, वडा ३ मा कांग्रेसका वडाध्यक्ष विजयी भिए । यो क्षेत्रमा एमालेको मत १४ हजार २० छ भने कांग्रेसको मत १२ हजार ७ सय ६८ छ ।

माओवादीको ३ हजार ९८ मत एमालेसँग जोड्दा गठबन्धनको मत १७ हजार १ सय १८ पुग्छ । यहाँ फोरमको १ हजार ५८ र राप्रपाको मत ४ सय ३९ छ ।
जिल्ला सदरमुकामसमेत रहेको क्षेत्र २ को प्रदेशसभा १ मा देउमाई नपा र इलाम नगरपालिकाका १२ वटा वडामध्ये १० बाहेक सबै समेटिएका छन् ।

देउमाई नपामा बहुमतसहित एमालेका प्रमुख–उपप्रमुख विजयी थिए । इलाम नपाको वडा १, २, ५, ६ र ९ मा एमाले तथा वडा ३, ४, ७, ८, ११ र १२ को वडाध्यक्षमा कांग्रेस विजयी भएको थियो ।

यो क्षेत्रमा एमालेको मत १६ हजार ४ सय ६६ छ । कांग्रेसको १५ हजार ३ सय ४२ र माओवादीको २ हजार ९ छ । एमाले र माओवादीको जोड्दा गठबन्धनको १८ हजार ४ सय ७५ मत हुन्छ । यो क्षेत्रमा फोरमको १ सय २०, राष्ट्रिय जनमुक्ति पार्टीको ९९ र राप्रपाको ९४ मत आएको देखिन्छ ।
क्षेत्र २ को प्रदेशसभा २ मा चुलाचुली, फाकफोकथुम, माङ्सेबुङ गाउँपालिकासहित माई नपाका ६, ७ र ८ वडा समेटिएका छन् । चुलाचुली गापा तथा माई नपाका ६, ७, ८ वडामा एमाले विजयी भएको थियो ।

माङ्सेबुङ तथा फाकफोकथुम गापाका दुवै अध्यक्षमा कांग्रेस र दुवै उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । माङ्सेबुङको एउटा वडा राष्ट्रिय जनमुक्ति पार्टी र चुलाचुलीको एउटा वडा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जितेका थिए ।

यो क्षेत्रमा एमालेको ११ हजार ९ सय ३५, कांग्रेसको १० हजार ८ सय ५१ र माओवादीको ४ हजार ३ सय २० मत छ । एमाले र माओवादीको जोड्दा यहाँ गठबन्धनको १६ हजार २ सय ५५ मत पुग्छ । यहाँ फोरमको २ हजार ६८, राजमुपाको ८ सय ३७ र राप्रपाको ६६ मत आएको देखिन्छ ।

मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवार मनोनयन कात्तिक १६ अर्थात् बिहीबार (आजै) हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!