पोखरा, १६ कात्तिक । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनःस्थापना गर्न माग राख्दै बुधबारदेखि पोखरालेखनाथ महानगरपालिका कार्यालयको मूलद्वारमा रिले अनशन शुरु गरिएको छ ।
पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना संघर्ष समितिको अगुवाइमा शुरु गरिएको रिले अनशन मंसिर २० गतेसम्म रहने र मागको सुनुवाइ नभएमा त्यसपछि कडा आन्दोलनका कार्यक्रम अघि बढाउने संघर्ष समितिका संयोजक शंकर खरालले बताउनुभयो ।
पहिलो चरणअन्तर्गत बुधबार डा दिलबहादुर क्षेत्री, पदमबहादुर कार्की, पूर्व सभासद् कृष्णकुमारी परियार, रामप्रसाद वस्ताकोटी, डिलबहादुर अधिकारी, पूजा शाह, टंकनाथ बराल, रुकु परियार र कृत्तिका परियार रिले अनशन बस्नुभएको छ ।
अनशन शुरु गर्न आयोजित कार्यक्रममा पूर्व सभासद् तथा उद्योगपति सूर्यबहादुर केसीले पूर्ववत् पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमा महानगरपालिकाले शहीद लखन थापाको शालिक पुनः राख्नु गलत भएको बताउनुभयो ।
संघर्ष समितिका सदस्य डा दिलबहादुर क्षेत्रीले पृथ्वीनारायण शाहसँग तुलना गर्ने कुनै विभूति नभएको बताउँदै पृथ्वीचोकमा पूर्ववत् पृथ्वीनारायणकै शालिक राख्नुपर्ने उल्लेख गर्नुभयो ।
दोस्रो जनआन्दोलनमा आन्दोलनकारीले पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेपछि उक्त चोकमा मगर संघले शहीद लखन थापाको शालिक निर्माण गरेको थियो ।