काठमाडौँ, १५ कात्तिक । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको आज २३ दिन भइसक्यो । असोज २३ गते काठमाडौँका नयाँ बानेश्वरस्थित खरिबोटमा सुटरको गोली लागेर ढल्नासाथ तत्कालीन गृहमन्त्री जनार्दन शर्माले हत्यारा पहिचान भइसकेको भन्दै केही दिनमै पक्राउ गर्ने बताएका थिए ।

Advertisement

महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्द तथा घटनाको अनुसन्धानमा संलग्न डीआईजी गणेश केसीले पनि सामान्य रूपमा हत्यारालाई दुई–चार दिनमै नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए । तर आज २३ दिन बित्दा पनि हत्यारालाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

नियन्त्रणमा लिनु त परै जाओस, गोलीकाण्डको ‘मुख्य नाइके को’ भन्नेबारे प्रहरी नै अलमलमा परेको छ !

डीआईजी गणेश केसी नेतृत्वको अनुसन्धान टोलीले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई हत्याको मुख्य अभियुक्तको रूपमा पहिल्याउँदै खोजी कार्य तीव्र बनाएको छ ।

२०७३ चैत २९ गते कुमारीगालमा गुण्डा नाइके दावा लामालाई गोली हान्नासाथ काठमाडौँ प्रहरी प्रमुखलाई फोन गरेर जिम्मा लिने ‘लोप्साङ लामा’ मनोज पुनको ‘दायाँ हात’ भएको बताइएको छ ।

तिनै लोप्साङ हुन् जसले गौचनलाई गोली लागेको केही मिनेटमा काठमाडौँ प्रहरी प्रमुख रवीन्द्र धानुकलाई फोन गरेर ‘गोली हान्ने मै हुँ’ भनेका थिए ।

उता बुटवल र भैरहवातिरका व्यवसायीलाई फोन गरेर गुण्डा नाइके मनोज पुनले ‘गौचनलाई मेरा केटाहरूले उडाएको’ भन्दै लाखौँ बार्गेनिङ गरिरहेका छन् । त्यस्तोमा को हो, गौचनको हत्यारा ? लोप्साङ समिरमान र मनोजबीचको कनेक्सन कस्तो छ ?

लोप्साङ लामा सिन्धुपाल्चोक लिपिङ्ग बजारका स्थायी बासिन्दा हुन् । २०७३ पुस पहिलो साता युवासङ्घ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई मनोज पुनको निर्देशनमा लोप्साङले नै गोली हानेका थिए ।

रूपन्देही प्रहरीले मनोेज पुनको निर्देशनमा लोप्साङले गोली हानेको निष्कर्ष निकाल्दै अहिले पनि दुवैलाई खोजिरहेको छ । तर दुवैजना भारतमा लुकेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

दुर्गा तिवारीपछि काठमाडौँको गौरीघाटस्थित दावा लामामाथि गोली प्रहार भएको केही मिनेटमै लोप्साङले अन्नोन नम्बरबाट तत्कालीन एसएसपी छविलाल जोशीलाई फोन गरेर भने, ‘दाबालाई गोली हान्ने मै हुँ !’

लोप्साङ त्यतिन्जेल मनोज पुनकै ग्याङको सदस्य थिए । ‘अहिले लोप्साङ मनोजको ग्याङमा छ कि छैन भन्नेबारे बुझिरहेका छौँ ?’ पछिल्ला तीनवटा हत्याकाण्डलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृत भन्छन्– ‘आकाङ्क्षा बढेपछि लोप्साङले मनोजको समूह छाडेर अर्कै समूह निर्माण गरिसकेको हुनसक्छ ।’

मनोज पुन भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाएका गुण्डा हुन् । गौचनमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले रूपन्देहीका व्यवसायीलाई फोन गरेर ‘गौचनलाई मेरो केटाहरूले गोली हानेको हो, तिमीहरू पनि विचार गर्नु !’ भनेर फोन गरे ।

प्रहरी स्रोतकाअनुसार मनोजले आज–भोलि पनि व्यापारीहरूलाई फोन गरिरहन्छन् र गौचनको हत्यारा आफ्नो कोटाहरूले गरेको दाबी गर्दै आएका छन् । यसमा प्रहरीको दुविधा यत्ति मात्रै छ, ‘हिजो लोप्साङ मनोजकै ग्याङको केटा हो, तर आज उसले ग्याङ छाड्यो कि सँगै छ ?’

समिरमानसिंह बस्नेत बाफल एरियाका गुण्डा हुन् । कुमार घैंटेको सहयोगीका रूपमा काम गर्दै आएका बस्नेत प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि भारत पसेका थिए ।

काङ्ग्रेस निकट कुमार घैँटे गजुरमुखी निर्माण सेवाको ब्यानरमा ठेक्का पट्टा गर्थे । ठेक्का–पट्टा गर्दा शरद गौचन र कुमार घैँटेको हिमचिम बढेको थियो । त्यतिवेला घैँटेको पैसा गौचनले चलाएका बारे समिर जानकार थिए ।

अहिले घैँटेकी पत्नीले आफ्नो श्रीमानले चलाउन दिएको पैसा माग्दा गौचनले ‘सकेको गर !’ भनेपछि समिरमानले गोली हान्न लगाएको डीआईजी गणेश केसी नेतृत्वको अनुसन्धान टिमले निष्कर्ष निकालेको छ । डीआईजी केसीको नेतृत्वमा अनुसन्धान गरिरहेका सुरक्षा अधिकारीहरूले काठमाडौँ सक्रिय गुण्डाहरूलाई बोलाएर समिरमानको कनेक्सन नियालिरहेका छन् ।

गौचन हत्यारबारे जिज्ञासा राख्दा अनुसन्धामा संलग्न डीआईजी गणेश केसीले भने– ‘अनुसन्धान भइरहेको छ, अहिले यसबारे केही नबोलौँ ।’

बुटवल पुगेपछि सुटर सम्पर्कविहीन 
शरद गौचनलाई गोली हान्ने युवाहरूको पहिचान गरेर प्रहरीले लोकेसन ट्र्याक गरेको थियो । सीतापाइला क्षेत्रबाट भारतमा पटक–पटक कल हुने गरेको देखेपछि अनुसन्धान टोलीले सीतापाइलामा क्रियाशील गुण्डाहरूमाथि निगरानी गरेको थियो । यहाँ स्मरणीय के छ, भने लोप्साङ फरार भएर भारत जानुअघि सीतापाइला क्षेत्रमा गुण्डागर्दी गर्थे ।

शरद गौचनलाई गोली हानेको केही दिनमा सीतापाइला क्षेत्रमा रहेको गुण्डाहरू बुटवल पुगेको एक सुरक्षा अधिकारीले बताए । ‘बुटवलबाट उनीहरू सम्पर्कविहीन भएका छन्’ स्रोत भन्छ, ‘गौचनलाई नेपाली केटाहरूले नै गोली हानेको हो, उनीहरू पनि भारततिर पसिसकेका छन् ।’

मनोज पुन स्कुलबाट रेस्टिकेट हुनेदेखि गोरुको कमिसन खानेसम्म 
मनोज पुन रूपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीको सामान्य परिवारमा जन्मिएका थिए । स्कुलमा खासै नपढ्ने, धेरैजसो कक्षा नछिर्ने पुन बच्चादेखी नै सुरो स्वभाका थिए ।

‘मगरको छोरो सुरो छ’ भन्ने बाल्यकालको सामान्य परिचय अहिले फेरिएको छ । उनी भैरहवाबाट उदाएर राजधानी सहर काठमाडौंमा धावा बोल्ने ‘गुण्डा र्नााके’ भएका छन् ।

भैरहवामा युवासङ्घका अध्यक्षमाथि गोली प्रहार हुनासाथ रूपन्देहीका तत्कालीन एसपी रवीन्द्र धानुकले तत्कालीन डीआईजी बमबहादुर भण्डारीलाई फोन गरेर भनेका थिए, ‘मनोज पुन भन्ने केटा खतरनाक भएर निस्केको छ, यसलाई खोरमा हाल्न नसके हामीले पछिसम्म दुःख पाउँछौँ ।’

पछिल्लो समय एकाएक प्रहरीको टाउको दुःखाइको गुण्डा नाइके बनेका मनोज परिवारको एक्लो छोरो हुन् । खैरेनीमा उनको दुईतले पक्की घर छ, जहाँ उनको श्रीमती, एक छोरी र बाबुआमा बस्छन् ।

खैरेनी स्कुलमा ८ कक्षामा पढ्दा नै रेष्टिकेट भएका मनोजले देवदह उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेका छन् । पढाइमा खासै रुचि नभएका मनोज शालिकराम चौलागार्इंको सङ्गतले गुण्डागर्दीमा लागेको उनीसँगै पढेका एक क्लासमेटले बताए ।

शालिकराम बुटवल र भैहरवा क्षेत्रमा प्लटिङ गर्नेहरूसँग पैसा उठाउँथे, पुनले उनलाई साथ दिए । प्लटिङ गर्नेहरूले पैसा नदिएमा चौलागाईं र पुन मिलेर प्लटिङ क्षेत्रका बिजुलीको पोल उखेलेर फाल्थे ।

नेपाल–भारत सिमानाको धकधकी धन्ने ठाउँम बङ्गलादेश पठाउने गोरुको कारोवार हुन्छ । मनोज र शालिकरामको समूहले त्यहाँबाट हरेक हप्ता गेरुको कमिसन लिन्थे ।

करिब पाँच वर्ष मनोजले शालिकरामलाई साथ दिए, पछि शालिक हतियार काण्डमा जेल परे । त्यसपछि शालिकको धन्दा मनोजले सम्हाल्न थालेका हुन् ।

यसरी खैरेनी–सुनवलबाट शुरु भएको गुण्डागर्दी बुटवल बजारभरी फैलियो । उमेरले करिब २८ पुगेका पुन युवासङ्घ रूपेन्देही क्षेत्र नम्बर–१ को कोषाध्यक्ष भएर काम गरे । युवासङ्घको आवरणमा गुण्डागर्दी गरेर असुली धन्दा चलाएपछि दुर्गा तिवारीले उनलाई कारबाही गरेका थिए । त्यीह रिसीवी साँध्न उनले पहिलो पटक २०७३ असोजमा तिवारीमाथि गोली प्रहार गरेका थिए ।

‘त्यतिवेला उनका सहयोगीले चलाएको हतियार पड्किएन’ दुर्गा तिवारी हत्याकाण्डलाई नजिकबाट नियालेका एक सुरक्षा अधिकारी भन्छन्, ‘त्यसपछि पुलिस आक्रामक भएर लाग्यो, उसका समूहका सदस्यहरू भटभट समातिन थालेपछि मनोजले रूपन्देही छाड्यो ।’

प्रहरी स्रोतका अनुसार २०७३ पुस पहिलो साता  दुर्गालाई मार्नुभन्दा करिब ९ महिनादेखि मनोज भारतमा बस्न थालेका थिए ।

दुर्गाको हत्या गरेपछि उनले आफू मलेसियामा बसेको दाबी गर्दै भैरहवा र बुटवलतिर धम्क्याएर असुल्ने काम तव्र रूपमा सुरु गरेका थिए । फोनबाट धम्क्याएर पैसा असुल्ने काम अहिलेसम्म पनि जारी छ ।

काडमाडौँलाई बेस बनाएर गुण्डागर्दी गर्न नभ्याए पनि दावा लामालाई गोली हानेर उनले काठमाडौंको गुण्डाराजमाथि धावा बोलिसकेका छन् ।

दावालाई हाने, चक्रेबाट उठाए 
मनोज पुनले गुण्डा नाइके दावा लामामाथि गोली हानेर काठमाडौंमा अरूको दिन सकिएको सङ्केत दिए । ‘दावालाई मार्ने नियतले नै हनिएको थियो’ महानगरीय अपराध महाशाखाका एक अधिकृत भन्छन्, ‘तर संयोगले उनी बाँचे ।’

पछिल्लो समय काठमाडौंमा चम्किएका गुन्डा हुन् दावा । दावाको हत्या गरेर काठमाडौँ आफ्नो ग्रिपमा लिने पुनको योजना रहेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
आजभोलि काठमाडौँमा मिलन चक्रे छैनन् । मिलन चक्रे निटक स्रोतका अनुसार उनी मनोजलाई नेपाल–भारत सिमानामा पैसा बुझाएर मलेसियातिर लागेका छन् ।
‘गौचन हत्यापछि मिलन चक्रेमाथि थ्रेट बढेको थियो’ लामो समय अपराध अनुसन्धानमा काम गरेका एक डीआईजी भन्छन्, ‘पैसा दिँदा पनि मनोजले सुट गर्नसक्ने डरले उनी भागेको हुनसक्छ ।’

भारतमा बस्दा मनोजले अन्डरवल्र्ड डनहरूसँग राम्रो सम्बन्ध बनाइसकेका छन् । छोटा राजन वा दाउद इब्राहिम कसको निकटमा रहेको मनोजले काम गरिरहेका छन् भन्नेबारे नेपाल प्रहरीले अनुसन्धन गरिरहेको छ ।

यसरी, पछिल्लो समय खतरनाक गुण्डाका रूपमा उदाएका मनोज पुन, उनको सहयोगी लोप्साङ र अर्का गुण्डा नाइके समिरमानसिंह बस्नेतमध्ये कसले चलायो गौचनमाथि गोली ?

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल भन्छन्– ‘गौचन हत्यामा धेरै कुरा लुकेको छ, समय आएपछि खुल्दै जानेछ ।’-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!