एमाले निकट युवासंघ नेपाल रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी तिवारी हत्यामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो।

Advertisement

तिवारीको हत्या गर्न निर्देशन दिने मुख्य योजनाकार रुपन्देही देवदह ६ को मनोज बुढामगर र घटनाको योजनाकार अन्य चार जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र धानुकले मनोजको निर्देशन र मुख्य योजनामा हत्या गर्ने घटनाको योजनाकार सिद्धार्थनगर नगरपालिका १३ को विकास भन्ने सोम बहादुर आले, तिवारीमाथी गोली प्रहार गर्ने सुटर राजु, गढिमाई नगरपालिका १ को श्याम गुरुङ र हतियार तथा गोली दिने र राख्ने देवदह ३ सेमरानाको बाबु भन्ने तुल बहादुर सिंजाली अझै फरार रहेको र उनीहरुलाई छिट्टै पक्राउ गरिने जानकारी दिए ।

पक्राउ परेकाहरुमा देवदह ६ को बसन्त बहादुर चापागाई, तिलोत्तमा १५ को बुद्धिसागर यादव, तिलोत्तमा १५ कै राजेश यादव, तिलोत्तमा ८ को प्रयास भन्ने खेमानन्द भट्टराई, देवदह ८ को सागर थापा, धकधई ८ परासीको अंगद थारु र देवदह ९ को ऋषिश्वर कुमाल रहेका छन् ।

पक्राउ परेकाहरुले हतियार ल्याउने, तिवारीको बारेमा सूचना दिने, हत्या गर्न मोटरसाईकलमा लैजाने र भगाउने सम्मको काममा संलग्नता रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चापागाईले मनोज पुन भन्ने मनोज बुढा मगरको निर्देशन बमोजिम घटनाको दिनभरी दुर्गा प्रसाद तिवारीको गतिबिधिको निगरानी गरी जानकारी गराएको सेतोपाटीमा समाचार छ ।

त्यस्तै बुद्धिसागर यादवले मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा. ५१ प  ८०७३ नं. को मोटरसाईकल लुकाई छिपाई केही महिना अघिदेखि आफ्नो घरमा राखिदिएको र घटना हुँदा आफ्नो भाई राजेश यादवसँग उक्त मोटरसाईकल पठाई दिएको र उक्त मोटरसाई रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको प्रहरीले बताएको छ।

पक्राउ परेको खेमानन्द भट्टराईले सुटर राजुलाई आफ्नो लु २८ प २११९ नं.को मोटरसाईकलमा राखि रोहणी पुलसम्म पुर्‍याएको र घटना पश्चात सुटर तथा सागर थापालाई सोही मोटरसाईकलमा रोहणी पुलबाट मणिग्राम सम्म पुर्‍याएको प्रहरीले जनाएको छ ।

सागर थापाले सुटर राजुलाई मोटरसाईकलको पछाडि राखी दुर्गा तिवारीको पिछा गरी गोली प्रहार पछि सेमराना हुँदै रोहणी पुलमा पुगी मोटरसाईकल रोहणी पुलमा छाडी खेमानन्द भट्टराईको लु २८ प २११९ नं.को मो.सा. मा मणिग्राम तर्फ गई निज सो दिन पाल्पा तर्फ लागेको थियो ।

त्यस्तै प्रहरीले हातहतियार तथा फिरौतीमा संलग्न अंगद थारु, ऋषिश्वर कुमाललाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले मनोज बुढामगरलाई कुनै पनि प्रकारको सहयोग नगर्न, नगराउन सम्पूर्णमा अनुरोध समेत गरेको छ । साथै कुनै प्रकारको सहयोग गर्ने, सूचना दिने वा अन्य गतिबिधिमा संलग्न भए गरेको पाईएमा जो सुकैलाई कानून बमोजिम कडा कारबाही गरीने समेत जनाएको छ ।

रुपन्देहीको देवदह ७ खैरेनी निवासी दुर्गा तिवारीको गत पुस ४ गते दिउँसो साढे तीन बजे मोटरसाईकलमा गएको दुई जनाको समूहले गोली हानी हत्या गरेका थिए ।

पार्टी तथा संगठनको कामसँगै ईट्टा व्यवसायलाई समेत संगसँगै अगाडि बढाउँदै आएका तिवारीमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले प्रहरी, पत्रकार तथा अन्य विभिन्न व्यक्तिहरुलाई टेलिफोन गरी तिवारीको हत्या आफूले गराएको जिम्मा लिएका थिए ।

पाँच नं. प्रदेश विभाजनको विरोधमा आन्दोलन गर्दै आएको एमालेले तिवारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला बन्द सहितको आन्दोलन चर्काएपछि सरकारले छानविन समिति गठन गरेको थियो ।

समितिले दुई साताभित्रमा हत्यामा संलग्नलाई पक्राउ गर्ने जनाए पनि दुई झण्डै साढे दुई महिनापछि मात्र हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो । तिवारीका ७९ वर्षिय आमा, श्रीमती र दुई छोरी छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!