काठमाडौं । नेविसंघ सहितका विद्यार्थीहरुले स्ववियु चुनावको पूर्वसन्ध्यामा अधिकांश क्याम्पसमा लगाएको ताला फोडेर उम्मेदवारी मनोनयन खुला गर्ने सहमति त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुबीच भएको छ ।

Advertisement

त्रिभुवन विश्वविद्यालयले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।

तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहरु १५ र १६ गते विहान साँढे १० बजेसम्म सम्पन्न गर्न त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेको छ ।

त्रिवि स्व्वियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगावहादुर मगरका अनुसार उम्मेदवारी मनोनयन सोमब्ार विहानसम्म हुनेछ ।

शुरुदेखि नै अवरुद्ध भएका क्याम्पसमा भने सबै तालिका मिलाएर नयाँ निर्वाचन कार्यक्रम तय गर्नुपर्नेछ ।

उम्मेदवारी मनोनयनका दिन राजधानीका अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थीले तालाबन्दी गरेपछि चुनाव प्रभावित भएको छ । त्यस्तै राजधानी बाहिरका पनि धेरै क्याम्पसमा नेविसंघले एकैपटक चुनाव हुनुपर्ने भन्दै ताला लगाएको थियो ।

त्रिवि पदाधिकारी र अन्य संगठनसँगको छलफलपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले आइतवारै अधिकांश क्यापम्सको ताला खोलेर उम्मेदवारी मनोनयन हुने बताए । उनले भने, ‘आजै साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन हुन्छ, अब सबै क्याम्पसका ताला खुल्छन्,नेविसंघले ताला लगाएको होइन, तालाबन्दीमा संगठनको संस्थागत संलग्नता छैन ।’

नेविसंघका अध्यक्ष नैनसिंह महर र महासचिव कुन्दन काफ्ले समूहले अलगअलग उम्मेदवारी प्यानल खडा गर्न लागेपछि आन्तरिक विवादका कारण तालाबन्दी गरिएको थियो । नेविसंघका विद्यार्थीले प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा शनिवार साँझ आगजनी गरेका थिए ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामाले क्याम्पस प्रशासनले ताला फोडेर भने पनि उम्मेदवारी मनोनयन गर्ने र फागुन १८ मै स्ववियु निर्वाचन गर्ने सहमति भएको बताइन् । नेविसंघको आन्तरिक विवादका कारण चुनाव प्रभावित हुन नहुने लामाको भनाइ छ ।

त्रिवि पदाधिकारीसँगको बैठकमा नेविसंघ र अन्य संगठनका नेताबीच बाझाबाझ समेत भएको थियो । चुनाव हार्ने डरले क्याम्पसमा तालबान्दी गरेर देशैभर चुनाव रोक्न खोजेको भन्दै अखिल र अखिल क्रान्तिकारी प्रचण्डले आरोप लगाएपछि भनाभन भएको थियो ।

नेविसंघ अध्यक्ष महरले भने तालाबन्दीमा नेविसंघ संस्थागत रुपमा तालाबन्दीमा नरहेको बताएका थिए । छलफलमा एमालेका विद्यार्थी इन्चार्ज रविन्द्र अधिकारी, अध्यक्ष नविना लामा, कांग्रेसका विद्यार्थी हेर्ने प्रदिप पौडल, अध्यक्ष नैनसिंह महर र माओवादीबाट रमेश मल्ल र अध्यक्ष नरेन्द्र न्यौपाने सहभागी थिए ।

चौथो समेस्टर परीक्षा दिइसकेका विद्यार्थीलाई नियमित मान्ने कि नमान्ने भन्ने विवादले पनि तालाबन्दी भएको विद्यार्थी नेताहरु बताउँछन् । अनेरास्ववियुका उपाध्यक्ष महेश वर्तौलाका अनुसार देशभरका ९० क्याम्पसमा मनोनयन भएको छ । ४ सय भन्दा बढि सामुदायिक क्याम्पसहरुमा चुनाव हँुदैछ ।

२ नम्बरका धेरै कलेजमा मधेसी मोर्चा आबद्ध विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । त्यस्तै विप्लव माओवादीका विद्यार्थीले पनि कतिपय क्याम्पसमा तालाबन्दी गरेका छन् । देशभरकै सबैभन्दा बढि विद्यार्थी पढ्ने पृथ्वीनारायण क्याम्पस पोखरा लगायत केही क्याम्पसमा भने उम्मेदवारी मनोनयन भएको अनलाइनखबरमा समाचार छ ।

यसैबीच गृहमन्त्री बिमलेन्द्र निधीले स्ववियु चुनाव गराउने सन्दर्भमा ताला खुलाउन र क्याम्पसको सुरक्षामा प्रहरी खटाउन आफू तयार रहे पनि नेविसंघको ताला खुलाउन आफूले नसक्ने जवाफ दिएको त्रिविका एक पदाधिकारीले बताए । मन्त्रीको भनाइ उधृत गर्दै उनले भने-प्रहरी मेरो नियन्त्रणमा छ तर, नेविसंघ छैन ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!