
भोजपुर । भोजपुरको आमचोक गाउँपालिका-१० मा कालो अरिंगालले टोक्दा ६० वर्षीय वृद्धको मृत्यु भएको छ । अरिंगालको टोकाइबाट सोही स्थानका पञ्चु राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मंगलबार दिउँसो २ बजेतिर राई गाईलाई घाँस काट्न गएका थिए । घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट करिब एक किलोमिटर पश्चिममा रहेको जंगलमा लडिरहेको अवस्थामा उनी फेला परेका थिए ।
अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका राईको शरीरमा २५ देखि ३० ठाउँमा कालो डाम देखिएको थियो । उनलाई प्राथमिक उपचारपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएकोमा आज बिहान करिब ९ः२० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

संगालोखबर 



















