
विराटनगर । प्रारम्भिक बाल शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन हुने भएको छ । विराटनगरमा मंसिर १२ र १३ गते हुने सम्मेलनमा कोशी प्रदेशका चार सय जना शिक्षकहरू सहभागि हुनेछन् ।
रातो बंगला फाउण्डेसनको आयोजना तथा एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरको व्यवस्थापनमा हुने सम्मेलन प्रारम्भिक बाल शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने छ ।
सम्मेलनको उद्घाटन विराटनगरको होटल स्वागतममा हुनेछ भने बन्दसत्र एभरेष्ट कलेजमा हुने फाउण्डेसनले जनाएको छ । फाउण्डेसनकी कार्यकारी निर्देशक एलिना सुब्बाका अनुसार सम्मेलनमा प्रारम्भिक बाल शिक्षाको लागि भइरहेको अभ्यास र प्रभावकारिता तथा थप प्रभावकारी बनाउन चाल्ने कदमलगायतका विषयमा छलफल हुनेछ ।
सम्मेलनको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री गीता तिम्सिनाले गर्नेछिन् । सम्मेलनमा समूहगत छलफल, विषयगत प्रस्तुतीहरू हुनेछन् भने प्रमुख वक्ताको रूपमा फाउण्डेसनकी अध्यक्ष शान्ता दीक्षित रहेकी छन् ।
उनले ‘ब्यक्तिको समग्र विकासका लागि आधारभूत बुझाई’ भन्ने विषयमा प्रस्तुती दिनेछिन् । यस्तै फाउण्डेसनका उपाध्यक्ष मिलन दीक्षितले ११ अत्यावश्यक बालकेन्द्रित सिकाइका विषयमा प्रस्तुति दिने कार्यकारी निर्देशक सुब्बाले बताइन् ।

संगालोखबर 



















