ईलामको जस्बिरेमा यो वर्षको अन्तिम सिजनको हरियो चियापत्ती टिप्दै किसान । यो वर्षको हरियो पत्ती मैजारो हुन लागेको छ ।

इलाम, १२ कात्तिक । सिँचाइ अभावले बर्सेनि सन्तोषजनक उत्पादन हुन नसकेको चियामा यो वर्ष बढी वर्षाका कारण असर पुगेको छ । पोहोर हिउँददेखिकै लगातारको झरी र हुस्सुले यो वर्ष जिल्लामा उत्पादन घटेको उद्योगी–किसानले बताएका छन्।

यो वर्ष पहाडी क्षेत्रको चियालाई आवश्यकभन्दा बढी पानी परेकाले सबैजसो बगान र उद्योगमा चिया उत्पादन घटेको व्यवसायीले बताए । अघिल्ला वर्षहरूमा हिउँदमा सिँचाइ अभाव र चैत–वैशाखमा खडेरी लाग्ने गरेकाले चिया उत्पादन घट्ने गरेको थियो ।

‘यो वर्ष चाहिँ चियाले घाम देख्न नपाएकाले सधैंभन्दा २० प्रतिशत कम हुने भो,’ साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिका सञ्चालक कमल मैनालीले भने, ‘बर्खामा हुस्सु बढी भएकाले चियाको मुना पलाउनै पाएन ।’

उनले उद्योगमा पोहोर साल करिब १ लाख २० हजार किलो तयारी चिया उत्पादन भएकामा यो वर्ष १ लाख किलो मात्रै हुने अनुमान गरे।

चैतमा टिपाइ सुरु भएको चियाको हरियो पत्ती मैजारो हुनेबेला भएको छ । यो वर्षको चिया हरियो पत्ती टिप्ने समय अब करिब २ साता छ । त्यसबेलासम्ममा पनि पोहोरको तुलनामा उत्पादन पु¥याउन नसक्ने अनुमान उद्योगीले गरेका छन्।

निजी मात्र होइन, सरकारले लिजमा दिएका चिया बगानको अवस्था पनि यो वर्ष उस्तै छ । जिल्लामा रहेका कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानमा हरियोपत्ती उत्पादन घटेको चिया बगान व्यवस्थापन पक्षले जनाएको छ।

कन्याम चिया बगानका प्रबन्धक रजनीश मुदालियारले यो वर्ष कन्याम बगानमा ६ लाख किलो हरियो चियापत्ती उत्पादन भएको जानकारी दिए । ‘पोहोरभन्दा यो वर्ष करिब २०–२५ हजार किलो चिया कम हुने अनुमान छ,’ उनले भने, ‘पोहोरदेखि हिउँद र बर्खामै पानी बढी परेकाले चिया उत्पादनमा ठूलो असर पुग्यो ।’

उनले पहिलेका वर्षहरूमा पानी नभएकाले चिया उत्पादन घट्ने गरेको तर यो वर्ष बढी पानी परेकाले चाहिँ उत्पादन घटेको बताए । ‘चियालाई चाहिनेभन्दा पानी अत्यधिक भयो,’ उनले भने, ‘इलाम पहाडी क्षेत्र भएकाले हुस्सुले यहाँको चियामा बढी असर पुर्‍यायो।’

अर्गानिक चिया उत्पादन भइरहेको इलाम चिया बगान र झापाको बर्ने बगानमा पनि चिया उत्पादन घटेको बगान व्यवस्थापनले जनाएको छ।

समयमा वर्षा र मलखाद अभाव हुँदा अघिल्लो वर्ष चिया उत्पादन ओरालो लागेको थियो । यो वर्षको पहिलो सिजन (गत चैत–वैशाख)मा वर्षा भएकाले उत्पादन बढ्नेमा किसान उत्साही थिए ।

चैत–वैशाखमा टिपाइ हुने फस्ट फ्लस (पहिलो टिपाइ)को चिया वर्षभरकै गुणस्तरीय र महँगो हुन्छ । फस्ट फ्लसमा वर्षाले असर नगरेपनि सेकेन्ड फ्लसदेखि उत्पादन कम हुन थालेको किसानले बताएका छन् ।

अघिल्लो वर्ष भने फस्ट फ्लसमा ४० प्रतिशतसम्म उत्पादन घटेको किसानले बताएका थिए । ‘पहिलो टिपाइ त निकै आसलाग्दो थियो,’ साखेजुङका किसान होम राईले भने, ‘त्यसयता पत्ती उत्पादन निकै घट्यो ।’

सूर्याेदय नगरपालिकास्थित गोर्खा टी स्टेटले परार साल १७ हजार किलो तयारी चिया फस्ट फ्लसमै उत्पादन गरेको थियो । यो वर्ष पोहोरभन्दा उत्पादन बढेकाले टिप्नसमेत भ्याएको थिएन ।

उद्योग सञ्चालक उदय चापागाईंले भने, ‘गतवर्षहरूमा पानी नभएर उत्पादन निरासाजनक थियो । यो वर्ष हुस्सुले बिगा¥यो ।’ गोर्खाले बर्सेनि ७० हजार किलो हाराहारीमा अर्गानिक अर्थाेडक्स तयारी चिया उत्पादन गरिरहेको छ ।

माइपोखरीस्थित माइपोखरी चिया प्रशोधन उद्योगमा पनि सिजनको सुरुमा कारखानाले प्रशोधन गर्न नभ्याउने गरी हरियोपत्ती संकलन भयो । तर, पछि वर्षाकै कारण उत्पादन घटेको उद्योग सञ्चालक शरद सुब्बाले बताए । उद्योगले उच्च गुणस्तरको तयारी अर्गानिक चिया उत्पादन गरिरहेको उनले बताए।

मौसम परिवर्तनले नेपालको चियालाई छिटो असर गर्ने गरेको चिया उत्पादक र उद्योगी बताउँछन् । चियालाई मौसम परिवर्तनअनुकूल बनाउन नसक्दा बर्सेनि चिया उत्पादन फरक पर्ने गरेको गोर्खा टी स्टेट सञ्चालक चापागाईं बताउँछन् ।

चीनको चिया खेती, परम्परा अध्ययन गरी चिया बिक्री सिलसिलामा युरोप तथा अमेरिकी देशहरूमा लामो समय बिताएका चापागाईंले नेपालमा कलमी बिरुवाबाट बढी चिया खेती विस्तार हुने गरेको र मौसम परिवर्तनले यस्तो बिरुवामा छिटो असर पुग्ने गरेको बताए ।

‘अन्य मुलुकहरूमा बीउबाट चियाको बिरुवा उत्पादन गरिँदोरहेछ, हामी चाहिँ छिटो उत्पादनका लागि कलमी गरेर बिरुवा उत्पादन गर्छाैं,’ उनले भने, ‘कलमीबाट उत्पादन भएको चियालाई मौसमले छिटो असर गर्छ ।’ -नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!