गोरखा, १२ कात्तिक । मंसिर १० गते हुने चुनावका लागि सबैभन्दा बढी चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा राजनीतिक दलहरुले चुनावी अभियान सुरु गरेका छन्।

Advertisement

नेपाली कांग्रेसको समेत समर्थनमा प्रतिनिधिभा सदस्य उम्मेदवार रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले घरदैलो अभियान सुरु गरिसके भने वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भने काठमाडौंमा नै गोरखाली मतदाता भेटघाटमा छन्।

शनिबारदेखि गोरखामा चुनावी अभियान थालेका कांग्रेस र नयाँ शक्तिले संयुक्त रुपमा चुनाव प्रचारप्रसार सुरु गरेका हुन्। आइतबार बिहानदेखि चुनावी दौडधुपमा लागेका भट्टराईले बिहान ११ बजेसम्म गोरखा नगरपालिकाकाको आहाले, बराह, लक्ष्मीबजार लगायतका क्षेत्रमा घरदैलो गरेका नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक रमेश पोखरेलले जानकारी दिए।

‘बाबुरामदाइ र कांग्रेसका नेता कार्यकर्तासहित आज बिहानै गोरखा नगर क्षेत्रको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरियो’ पोखरेलले भने ‘अब हामी पालुङटार छिर्दैछौं।’ गोरखा नगर क्षेत्रमा नेपाली कांग्रेसबाट नगर समिति सभापति चन्दनबाबु खत्रीको नेतृत्वको टोली बाबुराम भट्टराईसँग चुनाव प्रचारमा सहभागी भएको थियो।

आइतबार नै भट्टराई र नेपाली कांग्रेसको एउटा टोली पालुङटार नगरपालिकामा घरदैलो अभियानमा जाने पोखरेलले बताए। भट्टराईको टोली शनिबार साँझ गोरखा नगरपालिकाको फिनाममा प्रचारका लागि पुगेको थियो।

कांग्रेस र नयाँ शक्ति पार्टीले शनिबार छुट्टाछुट्टै प्रशिक्षण कार्यक्रम गरेर आइतबारदेखि संयुक्त रुपमा चुनावी प्रचारलाई अघि बढाएका हुन्। शनिबार काङ्ग्रेसले विपी गणेशमान स्मृति भवनमा र नयाँशक्तिले होटल गोरखा प्यालेसमा प्रशिक्षण कार्यक्रम गरेका थिए।

काङ्ग्रेसले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा भट्टराईले र नयाँ शक्तिले आयोजना गरेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार चीनकाजी श्रेष्ठले प्रशिक्षण दिएका थिए।

दुबै नेताले एक अर्का पार्टीलाई सहयोग गर्ने विश्वास दिलाएका थिए। गोरखामा क्षेत्र नं. २ को संयुक्त चुनाव प्रचार प्रचार कार्यक्रम नयाँ शक्ति पार्टीले नेतृत्व गरेको छ भने १ मा नेपाली कांग्रेसले गरेको छ।

नेपाली कांग्रेस र नयाँ शक्ति नेपालको संयुक्त प्रचार प्रसार कार्यक्रम आइतबार मसेलको घ्याम्पेशालमा छ। क्षेत्र नम्बर १ मा पर्ने घ्याम्पेशालको कार्यक्रममा कांग्रेसबाट चीनकाजी श्रेष्ठ र प्रदेशसभाका उम्मेदवार राजेन्द्र बजगाईं, प्रकाशचन्द्र दवाडीसँगै नयाँ शक्तिका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नारायणकाजी काठमाडौंमा नै नेपाली कांग्रेस र नयाँ शक्ति नेपाल पार्टीका नेता कार्यकर्ता प्रचारमा लागिरहेको बेला माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भने राजधानीमा रहेका गोरखालीवासीको विभिन्न संघसंस्था र मतदातासँगको भेटघाटमा ब्यस्त छन्।

आइतबार भने नारायणकाजी माओवादी पार्टीको केन्द्रीय कार्यालयमै भेटघाटमा ब्यस्त रहेका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। ‘आज पार्टीकै शीर्ष नेताहरुसँग भेटघाट र छलफल छ’ उनले भने ‘गोरखा २ कसरी जित्ने त्यो योजना र रणनितिको तयारीमा हुनुहुन्छ। साथै उहाँले गोरखा २ का नेता कार्यकर्ता तथा मतदातासँगको भेटघाटलाई पनि निरन्तरता दिनुभएको छ।’

यसअघि शुक्रबार गोरखाको १२ किलोमा एमाले र माओवादी केन्द्रको संयुक्त प्रशिक्षण कार्यक्रममा नारायणकाजी उपस्थित थिए। उनी त्यसै दिन काठमाडौं फर्किएका थिए।

गोरखा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा क्षेत्र क मा कांग्रेस र नयाँ शक्तिको तालमेलमा नयाँ शक्तिका हरिशरण आचार्य र ख मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी उम्मेदवार छन्।

वाम गठबन्धनबाट भने प्रदेशसभा क्षेत्र क मा माओवादी केन्द्रकी कमला नहर्की र क मा अमर तमु उम्मेदवार छन्। गोरखा क्षेत्र १ मा कांग्रेस र नयाँ शक्तिको तालमेलमा कांग्रेस नेता चीनकाजी श्रेष्ठ उम्मेदवार छन् भने वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता हरि अधिकारी उम्मेदवार छन्।

क्षेत्र नं. १ को क मा नेपाली कांग्रेसका नेता धिरन थापा र माओवादी केन्द्रका नेता लेखबहादुर थापा मगर उम्मेदवार छन्। क्षेत्र नं. १ कै ख मा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईं र एमालेका नेता रामशरण बस्नेत उम्मेदवार छन्।-थाहाखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!