काठमाडौं, १२ कात्तिक । उचित मुआब्जा निर्धारण र तत्काल वितरणको माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा स्थानीय वासिन्दाले बन्द आह्वान गर्दा गोरखा र धादिङको ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भएको छ।

Advertisement

बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरेबजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको विरोधमा बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समिति आरुघाट विशालनगरले आइतबार र सोमबार बन्द आह्वान गरेको हो।

बन्दका कारण बुढीगण्डकी डुवान क्षेत्रको आर्खेत र आरुघाट बजारबाट गोरखा सदरमुकाम र धादिङ सदरमुकाम जाने र आउने गाडी चलेका छैनन्।

त्यस क्षेत्रबाट दैनिक काठमाडौं आउने जाने गाडीहरु पनि बन्दका कारण रोकिएका छन्। स्थानीय बजार बन्द छ भने विद्यालय, संघसंस्था र सरकारी कार्यालय समेत बन्द छन्।

डुवान क्षेत्रका वासिन्दाले गोरखा र धादिङ दुबै जिल्लामा पर्ने आरुघाट बजार र धादिङको सल्यानटार खहरे लगायतका क्षेत्रमा नारा जुलुस गरेका छन्।

सरकार बुढीगण्डकी जलविद्युत आयोजनाप्रति उदासिन रहेको र स्थानीयलाई विचल्लीमा पार्ने काम भएकाले विरोध प्रदर्शन गर्नुपरेको बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समिति आरुघाटका अध्यक्ष दिनेशकुमार ढकालले जानकारी दिए।

‘राज्य उदासिन हुँदा हाम्रो विजोग भयो, त्यसैले हामी बन्द आह्वान गर्न बाध्य भयौं’ उनले भने ‘ आज गोरखाको आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका कार्यालय घेराउ गर्ने कार्यक्रम पनि छ।’

सरकारले बुढिगण्डकी डुवान क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रको जग्गाको २०७३ मंसिर र पुसमा मुआब्जा निर्धारण गरे पनि आरुघाट, आर्खेत र खहरेबजार क्षेत्रको मुआब्जा निर्धारण गरेको छैन।

मुआब्जा निर्धारण भएको क्षेत्रमध्ये गोरखाको साविकको ३ र धादिङतर्फ पनि ३ गाविसको मात्र मुआब्जा वितरण भएको छ। यस वर्ष सरकारले बुढीगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रमा मुआब्जा वितरण गर्न सरकारले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। तर उक्त रकम अपुग रहेको भन्दै स्थानीय प्रशासनले वितरण गर्न आलटाल गरिरहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!