उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो 
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रारम्भमा अवसर प्राप्त भए पनि तत्काल उपलब्धि नहुन सक्छ। अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ला। गरिएका कामको राम्रै मूल्यांकन भए पनि तत्काल फाइदा उठाउँदा सञ्चित लाभांश घट्न सक्छ। मिहिनेत गर्दा व्यवसायमा लाभ तथा ऋण मोचन हुन सक्छ। बेहोसीले केही लाभांश बाहिरिने सम्भावना देखिए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ भने पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ। व्यापारतर्फ दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिहिनेत परे पनि विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ। आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले पहिले गुमेको स्थान प्राप्त हुन सक्छ। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै काममा सहयोग गर्नेहरू जुट्नेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुने समय छ। नोकरी तथा व्यवसायमा मनग्गे आम्दानी हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रारम्भमा समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। सोमबारपछि स्थितिमा सुधार आउनेछ। तापनि सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ। केही चुनौती देखिए पनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ। मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। तारिफयोग्य कामले समाजमा स्थापित बनाउन सक्छ। तर अरूको विश्वासमा पर्दा धोका पाइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सुरुको दिन रमाइलो रहे पनि मन मिल्ने साथीसँग वादविवाद हुन सक्छ। परिस्थितिवश केही समस्यामा परिएला। शुभचिन्तकहरू टाढिनाले पनि अप्ठ्यारोमा परिनेछ। स्वास्थ्यमा कमजोरी देखापर्नेछ भने अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। तापनि, बुधबारदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। मिहिनेत गर्दा गुमेको स्थान हासिल हुनुका साथै पद-प्रतिष्ठा प्राप्त हुन सक्छ। आध्यात्मिक कर्ममा मन जानेछ। नाम र दामका साथ नयाँ जिम्मेवारी हातपार्न सफल भइनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रारम्भमा प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्नो वस्तुमा अरूले दाबी गर्ने हुँदा गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सोमबार र मंगलबार आफन्तहरूको साथले उत्साह जगाउनेछ। प्रियजनसँगको भेटघाटले घुमफिर तथा मनोरञ्जनको अवसर निम्त्याउनेछ। तर वादविवाद र फजुल खर्च बढ्नाले समस्या झेल्नुपर्ला। भैपरी आउने समस्यासँग पनि जुध्नुपर्ला। हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला। सप्ताहन्तमा स्थितिमा सुधार आई पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। अनुभवले ज्ञान बढ्नेछ भने मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। परिस्थितिवश व्यावसायिक काममा अनावश्यक झमेला थपिन सक्छ। व्यवसायका लागि आकस्मिक यात्रा गर्नुपर्ला। सप्ताहान्तमा अस्वस्थ भइने सम्भावना छ, अलि सजग रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रारम्भमा केही चुनौती देखापरे पनि आफन्तको साथ प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। सप्ताहान्तमा केही साथीभाइ टाढिन सक्छन्। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। प्रतिस्पर्धाले खर्च बढाउला। साताको पूर्वार्धभन्दा उत्तरार्ध फलदायी रहनेछ। मिहिनेत गर्दा परिस्थिति अनुकूल बन्नेछ। हिम्मतले महत्वपूर्ण काम बन्नेछ। चिताएका घरेलु काम सम्पादन हुनेछन्। विभिन्न भौतिक साधन जुटाउन सफल भइनेछ। लगनशीलताले सफलता दिलाउनेछ। सप्ताहान्तमा शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला। मनको डरले पनि सताउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। बुधबार र बिहीबार पारिवारिक असमझदारीले काममा बाधा उत्पन्न गराउला। बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्ति हुनेछ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बुधबार र बिहीबार भने भौतिक साधन बिग्रने र सहयोगीहरूले साथ नदिने समस्या देखिन्छ। साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। सप्ताहान्तमा लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सोमबारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ होला। नयाँ काममा हात हाल्ने समय छ। बुधबारदेखि भने आलोचकहरूले सताउन सक्छन्। धेरै लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नुपर्ला। विरोधीहरूले पनि आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रारम्भमा राम्रो आम्दानी भए पनि तत्काल खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला। बलजफ्ती गर्दा काम झन् बिग्रन सक्छ। बेलामा होस नपुर्याउँदा चुनौती सामना गर्नुपर्ला। समयमा फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। बुधबारदेखि स्थितिमा सुधार आउनेछ। टाढिएका आफन्त नजिकिनाले प्रसन्नता मिल्नेछ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेत गर्दा सप्ताहान्तमा नाम, दाम र इनाम हातपार्न सकिनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!