कार्तिक , ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनभन्दा भिन्न र शासन व्यवस्था निर्धारणको निर्वाचन भएकाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले लाकतन्त्रका पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।

Advertisement

पोखराको प्रदर्शनी केन्द्रमा शनिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी दलको गठबन्धनकले चुनौति उत्पन्न गरेको बताए । माओवादी र एमालेले गरेको बम गठबन्धनले एक दलीय व्यवस्था ल्याउने त्रास उत्पन्न गरेको भन्दै उनले भयमुक्त शासनका लागि कांग्रेसले जित्नु आवश्यक रहेको बताए ।

‘साम्यवादी गठबन्धनले नेपालमा फेरि डर, त्रासको शासन ल्याउन खोजेको छ,’ उनले भने, ‘साम्यवादी शासन भएको देशमा कहीं प्रजातन्त्र छैन, बोल्न र लेख्न पाइँदैन । त्यहाँ डर र त्रासको शासन हुन्छ । उत्तर कोरियालाई हेरे हुन्छ ।’ कांग्रेसले जितेमात्रै भयमुक्त शासन व्यवस्था बहाल रहनेमा उनले जोड दिए ।

‘स्थानीय तहको चुनाव एउटा कुरा हो, स्थानीय तहमा जनताले भोट दिएकै पार्टीलाई राष्ट्रियस्तरमा, प्रान्तीयस्तरमा भोट हाल्छन् भन्ने कुरा छैन,’ उनले भने, ‘प्रजातन्त्र कसले ल्याएको हो यो देशमा । प्रजातन्त्र कसले बचाउँछ यो देशमा, जनताले त्यो बुझ्नुपर्छ ।’

तीव्र ध्रुवीकरणले देशमा राजनीतिक संकट ल्याएको उनले बताए ।  उनले आफ्नै पार्टी कार्यकर्ताहरूलाई पनि कांग्रेसलाई आइपरेको चुनौतिको बदला पार्टीलाई एक भएर विजयी गराउन लाग्न आह्वान गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठबन्धनको खुलेर आलोचना गरे । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन साम्यवादी र प्रजातन्त्रवादीबीचको लडाइ भएको बताए ।

‘यो दूनियाँमा कम्युनिष्टहरू लोकतन्त्रको भर्‍याङ चढेर अधिनायकवादको शिखरमा पुग्न चाहन्छन्,’ उनले भने, ‘तर, त्यो सबैतिर हराउँदै गएको बेलामा जुन हरकत नेपालमा फेरि देखापरेको छ त्यो मुलुकको लागि हितकर कुरा होइन ।’ त्यसैले लोकतन्त्रको रक्षागर्न चाहने शक्तिले अत्यन्त्र गम्भिरतापुर्वक लिनुपर्ने उनले बताए ।

‘यो चुनाव बन्दतिर जाने हो वा खुलातिर जाने हो त्यो लडाइ हो,’ उनले भने, ‘यो चुनाव पार्टी पार्टीको लडाइ होइन व्यवस्थाको लडाइ हो । यो चुनाव लोकतान्त्र जोगाएर अघि बढ्ने की अधिनायकवादतिर पछाडि फर्कने त्यो बीचको लडाइ हो ।’

एमाले–माओवादीले बहुमत पुर्‍याएभने सरकार आफ्नो हितका लागि उपयोग गर्ने आरोप उनले लगाए । दलीय ध्रुवीकरणले बामपन्थीहरू देशलाई एक दलीय हुकुमततिर लैजान प्रयासरत रहेको उनले बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुनमन्त्री यज्ञबहादुर थापा, कांग्रेसमा नवप्रवेशी अखण्ड नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्का र उद्योगी तथा राप्रपाका पूर्वसभासद सूर्यबहादुर केसीले पनि बोलेका थिए ।

अखण्ड पार्टी कांग्रेसमा विलय

कार्यक्रममा आफूसहित आफ्नो पार्टीका ५४ जिल्लाको कार्यसमिति सबै कांग्रेसमा विलय भएको घोषणा अखण्ड नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्काले गरे ।

उनलाई कांग्रेस सभापति देउवाले पार्टीको सदस्यता दिएभने अन्य नेताले अबिर र माला लगाएर स्वागत गरे । कार्यक्रममै पोखराका पूर्वप्रधानपंच तथा २०६४ मा राप्रपाबाट समानुपातिकतर्फका सभासद भएका उद्योगी सूर्यबहादुर केसीले पनि कांग्रेसमा प्रवेश गरेको घोषणा गरे ।  कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका दर्जनौको नाम पढेर सुनाइएको थियो ।-कान्तिपुर

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!