
विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले भाडामा लिएको घरमा श्रम संस्कृति पार्टीले गाउँपालिका कार्यसमितिको कार्यालय स्थापना गरेको छ । साउन १५ गते गाउँपालिकामा पार्टी समायोजन तथा पूर्ण बैठक आयोजना गरेको श्रम संस्कृतिले सोही दिन गाउँपालिकाले भाडामा लिएको घरमा कार्यालय स्थापना गरेको हो ।
गाउँपालिकालाई कुनै जानकारी नगराई पार्टीले कार्यालय स्थापना गरेपछि अहिले चौतर्फी विरोध भइरहेको छ । गाउँपालिकाले वार्षिक एक लाख १० हजार भाडामा उक्त घर भाडामा लिएको गाउँपालिकाका उपाध्यक्ष बिरेन्द्र राईले जानकारी दिए ।
उक्त घरमा कृषि शाखा र भेटनरी तथा पशु सेवा शाखा सञ्चालनमा छन् । ‘पुरै घर गाउँपालिकाले वार्षिक एक लाख १० हजारमा भाडामा लिएको हो’, उपाध्यक्ष राईले संगालोखबरसँग भने, ‘त्यहाँ दुई वटा शाखा र कर्मचारीको क्वाटर पनि छ । पार्टी कार्यालयको बोर्ड राखिएपछि कर्मचारीलाई पनि काम गर्न असहज भएको छ ।’
उनका अनुसार अहिले स्थानीयले गाउँपालिकासँग यस विषयमा जवाफ खोजिरहेका छन् । यस विषयमा सामाजिक सञ्जालमा पनि विरोध भइरहेको उनले बताए । गाउँपालिकाले भाडामा लिएको घर श्रम संस्कृति पार्टीको हालै गठन भएको रामप्रसादराई गाउँपालिका अध्यक्ष विष्णु राईको हो ।

‘उहाँहरूले हाम्रो घर खाली गरिदिनु भन्नुभएको भए हुन्थ्यो । हामी अर्को विकल्प निकाल्थ्यौँ’, गाउँपालिका उपाध्यक्ष राईले भने, ‘हामीलाई कुनै जानकारी नगराई पार्टी कार्यालयको बोर्ड राख्नुभएको छ । यसले कर्मचारी र सेवाग्राही सबैलाई असहज भएको छ ।’
कर्मचारी र स्थानीयले यो पार्टी कार्यालय होकी गाउँपालिकाको कार्यालय हो भनेर गुनासो गरिरहेको उनले बताए । ‘भेटनरी र कृषि शाखाको सिधै माथि पार्टीको बोर्ड राखिएको छ’, उनले थपे, ‘उहाँहरूले हेपाहा प्रवृत्ति नै देखाउनुभएको हो ।’
रामप्रसादराई गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका स्थानीय विजय राईले यस्तो कार्य गलत भएको बताए । आफैँले गाउँपालिकालाई भाडामा लगाएको घरमा पार्टीको कार्यालयको बोर्ड राख्नु उचित नभएको उनको तर्क छ ।

‘८/९ वर्षदेखि गाउँपालिकाले पुरै घर भाडामा लिएर दुई वटा शाखा त्यहाँबाट सञ्चालन गरिरहेको छ’, उनले भने, ‘अहिले सामाजिक सञ्जालदेखि सबैतिर यसको आलोचना भइरहेको छ । यो विषयमा गाउँपालिकाको पनि ध्यान जानुपर्छ । यो त सत्ता हस्तक्षेप गरेजस्तै देखियो ।’
श्रम संस्कृति पार्टीको हालै गठन भएको रामप्रसादराई गाउँपालिका अध्यक्ष विष्णु राईको बुबा राजेन्द्र राईले गाउँपालिकालाई घर भाडामा दिएको उनले बताए । गाउँपालिकालाई भाडामा दिएको घरमा पार्टीको कार्यालय राख्नु गलत भएको उनको भनाइ छ ।
श्रम संस्कृति पार्टीका गाउँपालिका अध्यक्ष विष्णु राईले गाउँपालिकालाई मौखिक जानकारी गराएरै बोर्ड राखिएको जानकारी दिए । ‘गाउँपालिकाले घर भाडामा लिएको हो । तर एउटा कोठा घरायसी प्रयोजनका लागि राखिएको थियो’, उनले संगालोखबरसँग भने, ‘घर पछाडिको कोठा भाडामा नलगाएका कारणले त्यही कोठालाई सम्पर्क कार्यालय बनाएका हौँ ।’
घर पछाडि बोर्ड राख्ने ठाउँ नभएर अगाडि नै राखिएको उनले जानकारी दिए । सम्बन्धित पक्षसँगै अनुमति लिएर छोटो समयका बोर्ड राखिएको उनले बताए ।
‘श्रमदानमार्फत कार्यालय बनाउने भनेर छोटो समयको लागि मात्र त्यहाँ राखिएको हो’, उनले थपे, ‘कार्यालय अगाडि भएका कारण बोर्डको विषयमा विभिन्न पक्षबाट कुराहरू आउला र गलत सन्देश जान्छ भन्ने सोचेर नै सम्बन्धित पक्षलाई जानकारी गराएर राखिएको हो ।’
यो त्यस्तो ठूलो मिडियासम्म आइपुग्ने विषय नभएको उनले बताए । उनले यदि गाउँपालिकालाई असर गर्छ भने हटाउने भनेर जानकारी गराएको उल्लेख गरे । पार्टीको कागजपत्र राख्नको लागि मात्र उक्त कोठा प्रयोग हुने र गाउँपालिकाको काममा कुनै अवरोध नहुने उनले बताए ।

मोहन ढकाल/संगालोखबर 













