
विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक विराटनगरमा कार्गो रेल आएको छ । शुक्रबार कोलकाताबाट कच्चा पदार्थ बोकेर छुटेको रेल आज दिउँसो विराटनगर कस्टर्म यार्ड आइपुगेको हो ।
पहिलो पटक आएको कार्गोमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ । नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएको छ ।
जसबाट पूर्वी नेपालका उद्योग-व्यवसायीले राहत महसुस गरेका छन् । कार्गो रेल सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाएर गरेका थिए । विराटनगरमा भन्सार कार्यालयका कर्मचारी र व्यापारीले रेलको स्वागत गरेका छन् ।
यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सेवाको उद्घाटन भए पनि सेवा नियमित हुन सकेको थिएन । २०८० जेठमा एउटा रेल आएपछि सेवा रोकिएको थियो ।

संगालोखबर 



















