
विराटनगर । फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा भरेराति अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन् । अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा हुने फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पुनः विश्वकप उपाधि जित्ने लक्ष्यमा छ । अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो ।
यता कप्तान रोड्रीको नेतृत्वमा रहेको स्पेन १६ वर्षपछि फेरि विश्वकपको फाइनलमा पुगेको हो । सन् २०१० मा पहिलोपटक विश्वकप जितेको स्पेन दोस्रो उपाधिको खोजीमा छ । लगातार तीन संस्करण अन्तिम १६ बाट स्पेन बाहिरिँदै आएको थियो ।
स्पेनका मुख्य प्रशिक्षक लुइस डी ला फुइन्टेले अनुभव र युवाशक्तिको संयोजनमार्फत अर्जेन्टिनालाई दबाबमा राख्ने रणनीति बनाएका छन् । छोटो पास, बल नियन्त्रण र मिडफिल्डमा प्रभुत्व जमाउने शैलीलाई उनले निरन्तरता दिने अपेक्षा गरिएको छ । प्रशिक्षक डी ला फुइन्टेले फाइनलमा पुगेका दुवै टोली विश्वकै उत्कृष्ट रहेको बताउँदै उपाधि जित्न आफूहरू पूर्णरूपमा तयार रहेको बताएका छन् ।
अर्काेतर्फ अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेसीको अनुभव र टोलीको सामूहिक प्रदर्शनमा विश्वास व्यक्त गरेका छन् । आठ पटकका बालोन डी’ओर विजेता मेसी प्रतियोगिताभर उत्कृष्ट लयमा छन् । स्कालोनीका अनुसार मेसी फाइनलका लागि पूर्णरूपमा तयार छन् । टोली लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।

संगालोखबर 



















