संगालोखबर


विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक विराटनगरसम्म कार्गो रेलमार्फत मालसामान ढुवानी सुरु भएको छ । शुक्रबार कोलकाताबाट प्रस्थान गरेको कच्चा पदार्थ बोकेको रेल आज विराटनगर आइपुग्ने भएकाे हाे ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएकाे छ ।

Advertisement

पहिलो चरणमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको रेल विराटनगर आउँदैछ । सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ ।

जसले ढुवानीको अवस्थालाई निरन्तर निगरानी गर्न तथा सुरक्षा र पारदर्शिता सुनिश्चित गर्न सहयोग गर्नेछ ।
कार्गो रेल सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाएर गरेका थिए ।

विराटनगर भन्सार कार्यालयका अनुसार कोलकाताबाट छुटेको रेल आजसम्म विराटनगर आइपुग्ने अपेक्षा गरिएको छ । सेवा नियमित सञ्चालनमा आएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीले आयात प्रक्रियामा समय र लागत दुवै बचत गर्न सक्ने छन् ।

यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सेवाको उद्घाटन भए पनि सेवा नियमित हुन सकेको थिएन । २०८० जेठमा एउटा रेल आएपछि सेवा रोकिएको थियो ।

पछिल्लो नीतिगत व्यवस्था र आवश्यक प्रक्रियागत समन्वय पूरा भएपछि भने कोलकाता बन्दरगाहबाट विराटनगरसम्म नियमित रेलमार्फत माल सामान ढुवानी गर्ने बाटो खुलेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!