
विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरू नियुक्त गरेको हो ।
प्रतिष्ठानको अध्यक्षमा मोरङका पत्रकार दीपक दाहाल र प्रदेश प्रेस रजिष्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।
मन्त्री पराजुलीका अनुसार प्रतिष्ठानको सदस्यहरूमा धनकुटाका रमेशचन्द्र अधिकारी, मोरङकी शान्ति दाहाल, ताप्लेजुङकी माला पालुङ्वा, उदयपुरकी रेणु पराजुली, झापाका विष्णुप्रसाद पोखरेल, झापाकै अर्जुन राजवंशी र सुनसरीका ध्रुव ढकाल नियुक्त भएका छन् । प्रतिष्ठानमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

यसैबीच, आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले प्रतिष्ठानका अध्यक्ष दाहाल र प्रेस रजिष्ट्रार भट्टराईलाई आजै नियुक्ति पत्र प्रदान गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज साँझ कार्यक्रम आयोजना गरेर दाहाल र भट्टराईलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले समग्र सञ्चार क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रतिष्ठान गठन गरिएकाले सोही अनुसार द्रुत गतिमा काम अघि बढाउन नवनियुक्त पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रदेश सचिव कृष्णप्रसाद सापकोटा, पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का लगायतले नवनियुक्त पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिष्ठानले कोशी प्रदेशका सञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणसहित समग्र सञ्चार क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गर्नेछ ।

संगालोखबर 



















