
विराटनगर । औषधि उत्पादन, नियमन, विश्लेषण र अनुसन्धानका लागि दक्ष जनशक्ति तयार गर्ने लक्ष्यसहित मनमोहन प्राविधिक विश्वविद्यालयले औषधी विज्ञानमा स्नातकोत्तर तहको ‘एमफार्म’ पाठ्यक्रम निर्माण गर्न सरोकारवालासँग छलफल थालेको छ ।
विश्वविद्यालयको स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेसको फार्मेसी विभागले औषधि विज्ञानमा स्नातकोत्तर तह ‘मास्टर अफ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रम विज्ञ, उद्योग र सरकारी निकायका प्रतिनिधि अनि प्राध्यापकहरूसँग छलफल थालेको हो ।
आज फार्मेसी विभागले विराटनगरमा आयोजना गरेको ‘एमफार्म इन फार्मास्युटिक्स करिकुलम डेभलपमेन्ट’ कार्यशालामा औषधी शिक्षा, औषधी उद्योग, नियामक निकाय तथा विश्वविद्यालयका विज्ञहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रस्तुतिकरण गर्दै पाठ्यक्रम विज्ञ डा. धर्मप्रसाद खनालले मनमोहनले तयार गर्न लागेको ‘एमफार्म’ पाठ्यक्रमले औषधी विज्ञानमा व्यावसायिकता, नैतिकता तथा आचारसंहिता कायम राख्न सहयोग पुग्ने बताए ।
यस्तै फार्मासिस्ट, स्वास्थ्यकर्मी एवं सरोकारवालासँग प्रभावकारी समन्वय गर्न, बहुविषयक स्वास्थ्य सेवा टोलीको रूपमा योगदान गर्न तथा फार्मेसीसम्बन्धी ज्ञान र सीपलाई व्यवहारमा लागू गराउन सहयोग पुग्ने उनको भनाइ छ ।
उनका अनुसार एमफार्म पाडक्रमय उत्तीर्ण जनशक्तिले औषधी तथा सम्बन्धित क्षेत्रका राष्ट्रिय अन्तराष्ट्रिय कानुनहरूको अध्ययन र मूल्याङ्कन गरेर अनुसन्धान गर्नेदेखि परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि दक्षता प्रदान गर्दछ ।
कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल औषधी विज्ञानमा ब्याचलर अफ फार्मेसी (वीफार्म) कार्यक्रम सञ्चालनमा छ । विश्वविद्यालयले आफ्नो शैक्षिक स्तरवृद्धि गर्दै औषधी विज्ञानमा स्नातकोत्तर तहको एमफार्मको पनि अध्ययन-अध्यापन सञ्चालन गर्ने तयारी गरेको हो ।

संगालोखबर 



















