
विराटनगर । नक्कली नागरिकता प्रमाणपत्र बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-५ का ३८ वर्षीय धनदेव राजवंशी र विराटनगर-११ का ६१ वर्षीय अशोक कुमार श्रेष्ठ रहेका छन् ।
सप्तरी स्थायी घर भई हाल विराटनगर-१४ बस्ने ३० वर्षीया मनिषा कुमारी कामत बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र बनाउन पुगिन् । सो क्रममा उनले पेस गरेको नागरिकता प्रमाणपत्र नक्कली भएको प्रमाणित भएको थियो ।
प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नागरिकता धनदेव राजवंशी र अशोक कुमार श्रेष्ठले बनाइदिएको खुलेपछि प्रहरी टोलीले विराटनगर-११ महेन्द्र चोकस्थित धनदेव राजबंशीले सञ्चालन गरेको ‘न्यू डोली फोटो सर्भिसेज’ नामक स्टुडियोमा छापा मार्यो ।
उक्त फोटो स्टुडियोमा खानतलासी गर्दा नक्कली कागजात बनाउन प्रयोग गरिने भारी परिमाणमा सरकारी प्रमाणपत्र तथा उपकरणहरू फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।
स्टुडियोबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाममा बनेका १२ थान नेपाली नागरिकता प्रमाणपत्र, २ थान सवारी चालक अनुमति पत्र, १० वटा खाली जन्मदर्ता प्रमाणपत्र, १ वटा विवाह दर्ता प्रमाणपत्र र १ वटा मृत्यु दर्ता प्रमाणपत्र बरामद गरेको छ ।
यसका साथै नक्कली कागजात तयार पार्न प्रयोग गरिएको १ थान कम्प्युटर, ‘न्यू डोली फोटो सर्भिसेज विराटनगर’ लेखिएको १ थान स्ट्याम्प्याड, २ थान मोबाइल र ३ हजार ५ सय ४० रुपैयाँ नगद समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

संगालोखबर 

















