
विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता भएका छन् । आज बिहान ८ः५० बजेतिर विराटनगर-१८ का मञ्जितकुमार यादव पोखरीमा डुबेर बेपत्ता भएका हुन् ।
दुई जना सवार बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए । फरार हुने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका यादवको खोजी तीव्र पारिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।
‘स्थानीय र नियन्त्रणमा लिन गएको प्रहरी टोलीले पोखरीमा नै हाम फालेर बेपत्ता भएको भनेका छन्’, उनले भने, ‘अहिलेसम्म मानिस फेला पार्न सकिएको छैन । सशस्त्रको गोताखोर टोली झिकाएका छौं । खोजी जारी छ ।’
यादवको खोजीका लागि नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा यादवका आफन्तहरू भेला भएर विवाद गरिरहेका छन् । मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ ।
उनले बोकेको झोला चेकजाँच गर्दा ६ किलो १३० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 

















