
विराटनगर । सशस्त्र प्रहरी बलले विराटनगरबाट भन्सार छली अवैध रूपमा भित्र्याइएको ठुलो परिमाणको मल्टिभिटामिन बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बिओपि जहदा-भुटाहा मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले सोमबार बिहान ७ः४० बजे विराटनगर महानगरपालिका-१७, कब्रिस्तान नजिकैबाट उक्त सामग्री नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा दुई लाख १६ हजार मूल्य बराबरको ४३२ वटा मल्टिभिटामिन बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त सामग्रीलाई अवैध रूपमा लेबल परिवर्तन गरी बिक्री वितरण गर्ने उद्देश्यले भित्र्याइएको अनुसन्धानबाट खुलेको छ ।
आवश्यक कागजात, कानुनी अनुमति तथा गुणस्तरको प्रमाण विना नै नेपाल भित्र्याइएको र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावना रहेकाले उक्त सामग्रीलाई नष्ट गरिएको सशस्त्रले जनाएको छ ।
सशस्त्रका खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ तथा दफा ३४ बमोजिम खाद्य तथा गुणस्तर कार्यालयका प्रतिनिधि, पत्रकार तथा अन्य व्यक्तिहरूको उपस्थितिमा वातावरण मैत्री र सुरक्षित तरिकाले उक्त बस्तु पूर्ण रूपमा नष्ट गरिएको हो ।

संगालोखबर 

















