
विराटनगर । मोरङको ग्रामथानमा देवरले आफ्नै भाउजूको बीभत्स हत्या गरेका छन् । ग्रामथान गाउँपालिका-६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २० वर्षीया सीमा राजवंशीको सोमबार राति ८ः३० बजेतिर हत्या भएको हो ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार आफ्नै देवर २१ वर्षीय सौचन राजवंशीले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खुकुरी प्रहारबाट सीमाको घाँटी छिनेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरको आँगनमा हत्या गरेपछि घिसार्दै शौचालय नजिक लगेर शव फालेको प्रहरीको भनाइ छ ।
सौचनले भाउजूको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । देवर-भाउजूबीचको झगडा छुट्याउने क्रममा सौचनका ठूलोबुबा शिवलाल खवास घाइते भएका छन् ।
भाउजूको हत्यामा संलग्न सौचनलाई प्रहरीले पक्राउ गरेको छ । घटनका बारेमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















