
विराटनगर । कोशी प्रदेश सभाको आजको बैठक स्थगित भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको वार्षिक बजेटमाथि सत्तापक्षभित्रै चुलिएको असन्तुष्टि समाधान हुन नसक्दा प्रदेशसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको हो ।
बजेट प्रस्तुत भएयता प्रदेशसभाको बैठक पटकपटक सारिँदै आएको छ । विनियोजन विधेयक माथि छलफल गर्नलाई प्रदेशसभा बैठक ११ गतेका लागि बोलाइएको थियो ।
११ गते बैठक बस्न नसकेपछि १६ गतेलाई सारिएको थियो । १६ गते पनि बैठक स्थगित भएपछि आजका लागि डाकिएको थियो । आजको बैठक पनि स्थगित गरेर अर्को बैठक भोलिका लागि सारिएको छ ।
प्रदेशसभा बैठक बारम्बार स्थगित भएपछि बजेटमाथिको संसदीय छलफल अन्योलमा परेको छ । प्रदेश सरकार बजेट विवाद समाधान गर्न प्रयासरत रहे पनि सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसकै असन्तुष्ट सांसदहरूबीच सहमति हुन नसक्दा राजनीतिक गतिरोध अझ गहिरिँदै गएको छ ।
यसैबीच प्रदेशसभाको अवरोध लम्बिँदै गएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बजेटको विषयलाई लिएर सरकारलाई चेतावनी दिएको छ ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज प्रेस विज्ञप्ति जारी गर्दै बजेट निर्माणदेखि संसद सञ्चालनमा सरकारले चरम गैरजिम्मेवारीपन देखाएको आरोप लगाएका छन् ।

संगालोखबर 
















