
विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट १३ जना पक्राउ परेका छन् । लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानका क्रममा २ सय ५७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, ३७ किलोग्राम गाँजा, लागूऔषध ट्याब्लेट ४६० र क्याप्सुल २० बरामद भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका-६ बाट २१ वर्षीय सुमन लिम्बु र २३ वर्षीय युवराज मगर ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । सुन्दरहरैंचा-१० बाट सोही स्थानका भानुभक्त लिम्बु, विप्लव परियार, सुन्दरहरैंचा-८ का किरण राई र बेलबारी-२ का सुशील राई ट्रामाडोल स्पास ४६० ट्याब्लेट सहित पक्राउ परेका हुन् ।
त्यस्तै झापाको झापा गाउँपालिका-४ बाट दमक-८ का चन्द्र बहादुर तामाङ र भारतको किशनगंजका अब्दुल रहमान २५ ग्राम १९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । कमल गाउँपालिका-४ बाट गौरादह नगरपालिका-१ का बिक्रम बस्नेत ट्रामाडोल २० क्याप्सुलसहित पक्राउ परेका हुन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट प्र १-०२००१ च ४५३१ नम्बरको ईभी गाडीबाट ३७ किलो गाँजा बरामद भएको छ । गाँजा बरामद भएसँगै प्रहरीले साँगुरीगढी गाउँपालिका-९ का लोक बहादुर राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका-२ की बिनिता कार्कीलाई पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पथरीले १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित बेचबिखनमा संलग्नलाई पक्राउ गरेको छ । पथरी शनिश्चरे-१० मङगलबारेका ३३ वर्षीय मोतिराज लिम्बुको घरमा लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लिम्बुसहित रंगेली नगरपालिका-६ का ३३ वर्षीय मिथुन साह छन् । उनीहरूमाथि सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 
















