
विराटनगर । विराटनगरमा भारतीय सवारी साधनका चालकहरूसँग अवैध रकम उठाउने तीन जना पक्राउ परेका छन् । विराटनगर-१५ स्थित सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूसँग अवैध रूपमा रकम असुलेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
विराटनगर महानगरपालिका-१३ का ६३ वर्षीय सुरेश कर्ण, विराटनगर-१५ का ६७ वर्षीय नरेन्द्र थापा र विराटनगर-१ का ४४ वर्षीय सञ्जय केवटलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
विराटनगर-१५ स्थित २ नम्बर ढाट नजिकै रहेको यात्रु सहायता शाखामा बसेर भारतीय नम्बर प्लेटका सवारी चालकहरूलाई दबाबमा पारी गैरकानुनी रूपमा रकम लिने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले सवारी चालकहरूलाई अनावश्यक दबाब र प्रभावमा पारेर आर्थिक लाभ लिने गरेका थिए । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 
















