
विराटनगर । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरको पार्किङस्थलबाट पेट्रोल बोकेको ट्याङ्कर चोरी भएको छ । पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको ट्याङ्कर सोमबार बिहानको राति चोरी भएको हो ।
ट्याङ्कर धनी नवीन कर्णले दिएको जानकारी अनुसार ट्याङ्करमा २० हजार लिटर पेट्रोलियम पदार्थ थियो । भारतको सिलिगुडीबाट तेल लोड गरेर ल्याइएको ट्याङ्करलाई आइतबार साँझ ८ वजे पार्किङमा राखिएको थियो ।
कर्णका अनुसार प्रारम्भिक नापजाँच गर्दा ट्याङ्करबाट झण्डै १ हजार देखि १२ सय लिटर तेल चोरी भएको छ । ट्याङ्कर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
ट्याङ्कर सुनसरीको भोक्राहानरसिंह गाउपालिका-८ को हुलाकी राजमार्गमा बेवारिसे अवस्थामा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले संगालोखबरलाई जानकारी दिए ।
‘हिजो आयल निगमका कर्मचारी आएपछि ट्याङ्कर विराटनगर पठाइसकिएको छ’, डीएसपी खड्काले भने । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


संगालोखबर 

















