संगालोखबर


विराटनगर । विराटनगरको एभरेष्ट कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी (बिआईटी) कार्यक्रमको अध्यापन सुरु गरेको छ ।

कक्षा १२ को अध्ययन सकिएपछि उच्च शिक्षा र गुणस्तरीय प्राविधिक शिक्षाका लागि नेपाली विद्यार्थीहरू ठूलो धनराशि खर्च गरेर विदेशिने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कलेजले बिआईटी भित्र्याएको हो ।

Advertisement

कलेजले आज पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका बाहिर पहिलोपटक काठमाडौं विश्वविद्यालयबाट बिआईटीको सम्बन्धन पाउनु गौरवको विषय भएको जनाएको छ ।

निर्धारण समयमा कोर्ष पूरा गर्ने, समयमै परीक्षा लिने र परीक्षाफल प्रकाशित गर्ने अग्रणी पहिचान बनाएको काठमाडौं विश्वविद्यालयको यो कोर्ष ८ सेमेस्टर अर्थात चार वर्षको हुने एभरेष्टका प्रबन्ध निर्देशक टीकाराम पुरीले जानकारी दिए ।

प्रविधिको युगमा उच्च माग रहेको यस विषयको अध्ययनमार्फत स्वदेशमै बसेर अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने कलेजको लक्ष्य रहेको उनले बताए । विद्यार्थीहरूलाई तेस्रो सेमेस्टरपछि नै ‘कमाउँदै पढ्दै’ गर्ने वातावरण मिलाउन कलेजले जब प्लेसमेन्टको समेत व्यवस्था गरेको जनाएको छ ।

यस वर्ष ३० जना विद्यार्थी भर्ना गरेर कलेजले आफ्नो पहिलो यात्रा तय गर्न लागेको छ । कलेजका अनुसार विश्वविद्यालयको नियमानुसार यही असार ५ गतेदेखि असार २५ गतेसम्म रजिष्ट्रेसनका लागि समय निर्धारण गरिएको छ ।

यस चार वर्षे कोर्ष अन्तर्गत विद्यार्थीहरूले प्रोग्रामिङ, सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एप्लिकेसन डेभलपमेन्ट, कम्प्युटर नेटवर्क, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, आर्टिफिसिएल इन्टेलिजेन्स तथा डाटा विश्लेषण जस्ता विषयहरू अध्ययन गर्नेछन् ।

यस्तै विद्यार्थीहरूलाई प्रोजेक्ट म्यानेजमेन्ट र इन्टर्नसिप समेत अनिवार्य गरिएको छ । बिआईटी उत्तीर्ण गरेपछि विद्यार्थीहरूले सफ्टवेयर इन्जिनियर, वेब डेभलपर, बिजनेस इन्टेलिजेन्स एनालिस्ट, एआई/एमएल इन्जिनियर, साइबर सेक्युरिटी एनालिस्ट, आईटी कन्सल्टेन्ट जस्ता क्षेत्रमा करियर बनाउनुका साथै आफ्नै कम्पनी स्थापना गरी स्वरोजगार बन्न सक्ने कलेजले जनाएको छ ।

सोही अवसरमा कलेजले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।  कलेज प्रशासनले ३.८१ देखि ३.९१ जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीलाई अबिर, खादा तथा मालासहित सम्मानपत्र प्रदान गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!