
विराटनगर । विराटनगरमा अवैध रूपमा चिठ्ठा खेलाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आकर्षक इलेक्ट्रोनिक सामानहरू उपहार पर्ने प्रलोभन देखाई ठगी गर्दै आएका विराटनगर-११ महेन्द्र चोक बस्ने ३५ वर्षीय सुवास राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार राईले अनधिकृत रूपमा ‘ओसियन डिजिटल सोलुसन प्राइभेट लिमिटेड’ नामको कम्पनी खडा गरी विभिन्न आकर्षक विद्युतीय सामानहरू चिठ्ठामा पर्ने भन्दै रसिद काटेर रकम उठाउने गरेका थिए ।
विशेष सूचनाका आधारमा असार ५ गते दिउँसो करिब दुई बजे उक्त कम्पनीको नाममा रहेका विभिन्न कागजात र रसिदसहित चिठ्ठा खेलाइरहेकै अवस्थामा राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
ओसियन डिजिटल सोलुसन प्राइभेट लिमिटेड लेखिएको एक थान ग्राहक पुस्तक, एक सय ५३ थान ग्राहकहरूको नामावली विवरण, ग्राहकहरूलाई दिइएको रसिदको एक सय ५० थान अर्धकट्टी र चार थान अग्रिम बुकिङ फारम बरामद गरिएको प्रहरीले जनाएको छ ।
राईविरुद्ध चिठ्ठा ऐन २०२५ अन्तर्गत चिठ्ठा सम्बन्धी कसूरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 


















