
विराटनगर । विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-६ घर भएका ७० वर्षीय रामप्रसाद दाहालको आज बिहान मृत्यु भएको हो ।
अचानक चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि दाहाललाई उपचारका लागि शनिबार बिहान ११ः३० बजेतिर कोशी अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज बिहानका राति २ बजेतिर मृत्यु भएको कारागार प्रशासक राजन घिमिरेले जानकारी दिए ।
‘उहाँ पहिला पनि पटक-पटक बिरामी पर्दै आउनुभएको थियो’, घिमिरेले संगालोखबरसँग भने, ‘हिजो पनि बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेपछि आफन्तलाई खबर गरियो । आफन्तहरू पनि तत्काल आउनुभएको थियो । उहाँको उपचारकै क्रममा मृत्यु भएको हो ।’
दाहाल जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । जबरजस्ती करणी मुद्दामा २०७५ साल पुस ६ गते पुर्पक्षका लागि कारागार चलान गरिएका उनलाई पछि जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अदालतको फैसला अनुसार कैद सजाय भुक्तानका लागि दाहालले २०९१ साल पुस ६ गतेसम्म कारागारमा बस्नुपर्ने थियो । उनको शव हाल अस्पतालमै रहेको र परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको कारागार प्रशासक घिमिरेले बताए । जिल्ला कारागार मोरङमा हाल १ हजार २ सय ८ जना कैदीबन्दी छन् ।

संगालोखबर 


















