
विराटनगर । नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सम्मानित भएका छन् । स्काउट अभियानको प्रवर्द्धन र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै मेयर कोइरालालाई सम्मान गरिएको हो ।
नेपाल स्काउट कोशी प्रदेशले आज इटहरीमा आयोजना गरेको कार्यक्रममा विराटनगर महानगर स्काउटका प्रमुख संरक्षकसमेत रहेका मेयर कोइरालालाई सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए । स्काउट गतिविधिको विस्तार, युवा नेतृत्व विकास तथा विद्यालय तहमा स्काउट अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन विराटनगर महानगरपालिकाले खेलेको भूमिकाको कदरस्वरूप कोइरालालाई सम्मान गरिएको नेपाल स्काउट कोशी प्रदेशले जनाएको छ ।
सम्मान ग्रहणपछि मेयर कोइरालाले स्काउट अभियानले अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र स्वयंसेवाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे ।
उनले युवा पुस्तालाई सकारात्मक तथा सिर्जनशील गतिविधितर्फ आकर्षित गर्न स्थानीय सरकार सधैँ सहकार्यका लागि तयार रहेको बताए । ‘स्काउट केवल एउटा संगठन मात्र होइन, जिम्मेवार नागरिक निर्माण गर्ने एउटा सशक्त अभियान हो’, उनले भने, ‘युवाहरूलाई सामाजिक सेवामा प्रेरित गर्दै नेतृत्व क्षमताको विकास गर्न स्काउटले खेलेको भूमिका अतुलनीय छ ।’
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहका स्काउट पदाधिकारी, प्रशिक्षक, रोभर तथा रेन्जर स्काउटहरूको उल्लेख्य सहभागिता थियो । स्थापना दिवसका अवसरमा प्रदेशभरीबाट उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्ति, विद्यालय तथा संस्थाहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।
नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीले स्काउट अभियानलाई समुदायस्तरसम्म विस्तार गर्न स्थानीय तहहरूको सहयोग महत्वपूर्ण रहेको बताए । उनले विपद् व्यवस्थापन, वातावरण संरक्षण, रक्तदान, सरसफाइ तथा सामाजिक सचेतनामूलक अभियानहरूमा स्काउटको सक्रिय सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको उल्लेख गरे ।
नेपाल स्काउटले विगत सात दशकभन्दा बढी समयदेखि बालबालिका तथा युवामा चरित्र निर्माण, नेतृत्व विकास, राष्ट्रसेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पछिल्ला वर्षहरूमा स्थानीय सरकार, विद्यालय र समुदायसँगको सहकार्य बढ्दै जाँदा स्काउट अभियान अझ प्रभावकारी र विस्तारोन्मुख बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।

संगालोखबर 


















