काठमाडौं, ९ कार्तिक । निर्वाचन आयोगको पूर्व निर्धारित कार्ययोजना अनुसार भोलि शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाईको काम हुँदैछ ।

Advertisement

आयोगका अनुसार आज समानुपातिकतर्फको मतपत्र छपाईको काम सकेर भोलिदेखि प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी छ । यहीबेला सर्वोच्च अदालतले प्र्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्ने कार्य प्रगति पेश गर्न आयोगलाई आदेश दिएको छ ।

यसअघि प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा अलगअलग मतपत्र बनाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश नदिएको सर्वोच्च अदालतले बुधबार प्रत्यक्षतर्फको चुनावका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने बारेमा के भइरहेको छ भनेर आयोगसँग प्रगति विवरण मागेको हो । सर्वोच्चको यो पछिल्लो आदेशले पहिलो चरणको चुनाव सर्ने हो कि भन्ने आशंका समेत बढेको छ ।

सर्वोच्चको आदेशले छुट्टा छुट्टै मतपत्र छाप्न आयोगलाई दबाब बढेको र आयोगले छुट्टा छुट्टै मतपत्र छाप्न नभ्याइने भनेकाले चुनाव सर्न सक्ने आशंका बढेको हो ।

यसबारे प्रतिक्रिया लिन खोज्दा आयोगका प्रवक्ता नवराज ढकालले भोलिदेखि मतपत्र छाप्ने कार्ययोजना अनुसार नै काम हुने बताउनुभयो । सर्वोच्चको आदेशलाई पनि पालना गर्दै मतपत्र छापिने उहाँको भनाई छ ।

सर्वोच्चले यसअघि पनि यस्तै आशयको आदेश दिँदा आयोगले छुट्टा छुट्टै मतपत्र छाप्न नभ्याईने भएकाले एउटै मतपत्र छाप्ने निर्णय गरेको थियो । सर्वोच्चबाट फेरि अर्को आदेश आएपछि अब के होला त भन्ने प्रश्नमा ढकालले भन्नुभयो, ‘अहिलेलाई एउटै मतपत्र छाप्ने कार्ययोजना हो, अब सर्वोच्चको अर्को आदेशबारे आज फेरि छलफल होला, सर्वोच्चको आदेशको पनि पालना गर्दै आयोगले चुनावको तयारी गर्छ ।’

आयोगका अनुसार प्रत्यक्षतर्फ झण्डै एक करोड ७५ लाख मतपत्र छाप्नुपर्छ । छुट्टा छुट्टै छाप्ने हो भने यसको दोब्बर चाहिने र यसो हुँदा संभव नहुने आयोगको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!