
विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका सात सय ५० विद्यार्थीलाई अभिमुखीकरणसँगै स्वागत गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै कलेजले विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।
विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै उपमेयर कार्कीले विद्यार्थीहरूलाई भरपुर मेहनत गरेर अध्ययन गर्न सुझाव दिइन् । अहिलेको मेहनतले भविष्यमा ठूलो उपलब्धि हासिल गर्न सकिने भन्दै उनले समयलाई सदुपयोग गर्न आग्रह गरिन् ।
ग्रिनल्याण्डमा दक्ष, अनुभवी शिक्षक भएकाले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गरिदै आएको कलेजका प्राचार्य दिनेश दाहालले बताए । ‘ग्रिनल्याण्ड कलेजले शिक्षासँगै विद्यार्थीलाई सीप पनि सिकाउँछ’, उनले भने, ‘२ वर्षे अध्ययन सक्दा विद्यार्थीहरूले विभिन्न सीप हासिल गर्छन ।’
कार्यक्रममा अभिभावकसँगै विद्यार्थीहरूले पनि आफ्ना अनुभव सुनाएका थिए । सोही अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

संगालोखबर 

















