
विराटनगर । सेवा र विकासका लागि युवाले देशका १९ जिल्लाका करिब तीन हजार गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । विद्यार्थीलाई झोला, कापीकलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत नेपाली शब्दकोश तथा क्याप वितरण गर्न लागिएको हो ।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार धनकुटा, पाँचथर, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट र दार्चुला जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने छ ।
संस्थाका अनुसार उक्त सामग्री भारतको सहयोगमा प्राप्त भएको हो । कार्यक्रमबाट गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ ।
२०७५ सालमा स्थापना भएको सेवा र विकासका लागि युवाले हालसम्म देशका करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति, राहत तथा अन्य सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गरिसकेको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कँडेलले विद्यार्थीको शैक्षिक विकासमा सहयोग र्पुयाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिँदै सबै सरोकारवालासँग सहयोग र सहकार्यको अपेक्षा गरेको बताएका छन् ।

संगालोखबर 

















