
काठमाडौं । बजेटमा प्रस्तुत गरिएका करका दरमा हेरफेर गरिएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ । सांसदले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदले करका दरमा हेरफेर गरेको विषय बाहिर आएको उल्लेख गर्दै संसद्मा टेबुल भएको प्रस्तावका विषय संसद्बाहिर थपघट गर्न नपाइने बताए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले आर्थिक विधेयकमाथि भएको हेरफेरको विषय गम्भीर भएको बताइन् । ‘यो संसद्मा पेश भएको आर्थिक विधेयकका पृष्ट परिवर्तन गरियो । ४६० बाट ४५० मा झारियो। १६ पृष्ट गायब गरियो । करका दररेट फेरबदल गरियो’, उनले भनिन् ।
उनले अर्थमन्त्री वाग्लेमाथि छानबिनको माग गरिन् । ‘संसद्मा पेश विधेयकलाई संसद्मा एउटा अंक राख्ने, मन्त्रालय फर्केर अर्को अंक राख्ने । यो के कामका निम्ति यस्ता व्यवहार गरिन्छ? के उद्देश्य राखेर गरिन्छ ?’ अर्यालले प्रश्न गरिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पनि करका दरमा गरिएको हेरफेर र आर्थिक विधेयकमा भएको थपघटको विषय उठाए । उनले यसलाई राजद्रोह भने ।
सांसद शाहीले अर्थ मन्त्रालयले गरिरहेको छानबिनले नपुग्ने बताए । यसका लागि संसदीय छानबिन हुनुपर्ने उनको भनाइ थियो । ‘छानबिन अर्थ मन्त्रालय होइन, अर्थमन्त्रीमाथि हुनुपर्छ । संसदीय छानबिन हुनुपर्छ’, शाहीले भने ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का गोपाल शर्माले पनि आर्थिक विधेयक र करका दरमा भएको हेरफेरको छानबिन गर्न माग गरे ।

संगालोखबर 

















