
विराटनगर । विश्व वातावरण दिवसको अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको `चुलीपोखरी ट्रास म्याराथन´ फोहोर सङ्कलन प्रतियोगिता भएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–२ स्थित चुलीपोखरी पदमार्ग क्षेत्रमा भएको उक्त कार्यक्रममा ७७ जना सहभागीले हाइकिङ, वृक्षारोपण र फोहोर सङ्कलन गरेका छन् ।
खुडी, इलामबाट सुरु भएको यो म्याराथनमा सहभागीहरूले करिब ३.५ किलोमिटर पहाडी ट्रेल हिँड्दै चुलीपोखरी पुगेका थिए । त्यहाँ उनीहरूले वृक्षारोपण तथा पोखरी परिसरको सरसफाइ गरेका छन् । फर्कने क्रममा ट्रेलमा फालेको अवस्थामा रहेको मिस्रित फोहोर (प्लास्टिक, क्यान, काँच, लत्ताकपडा) सङ्कलन गरिएकाे थियाे ।
आयोजकले सबै सहभागीलाई कपडाको फोहोर फाल्ने झोला प्रदान गरेको थियो, जसमा सहभागीले सङ्कलन गरेको फोहोर तौलको लागि ल्याएका थिए । अन्त्यमा कुल १०४.१७ केजी फोहोर सङ्कलन भएको आयोजकले जनाएको छ ।
सबैभन्दा धेरै २१.१६ केजी फोहोर सङ्कलन गर्ने टेकमान राई (६४ वर्ष) प्रथम भए । द्वितीय स्थानमा ८.४२ केजीसहित कवान चाम्लिङ राई र तृतीय स्थानमा सिसम लिम्बु ७.७१ केजीसहित विजेता भए ।
विजेताहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । वातावरणीय मैत्री सन्देशलाई थप जोड दिँदै आयोजकले नेपाली कागजबाट नै प्रमाणपत्र तयार गरी सबै सहभागीलाई वितरण गरेको थियो ।

संगालोखबर 

















