
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका छ वटा पालिकामा यसपटक नवप्रवर्द्धन साझेदारी परियोजना अन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु गरेको छ ।
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम नवप्रवर्तन साझेदारी परियोजना अन्तर्गत इलामको रोङ गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, मोरङको सुन्दरहरैंचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुंगाको लिखु पिके गाउँपालिकामा यो कार्यक्रम सुरु गर्ने गरी समझदारी भएको हाे ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थितिमा आज परियोजनाको सम्झौता कार्यक्रम भएको छ । कोशी प्रदेश सरकारका सचिव नारायण प्रसाद रिसालले पालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतसँग सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता अनुसार इलामको रोङ गाउँपालिकामा रोङ उद्यमशीलता र कृषि व्यवसाय सम्बर्द्धन परियोजना सञ्चालन हुनेछ । यसका लागि १ करोड ५० लाख रकम खर्च गरिनेछ । धनकुटा नगरपालिकामा डिजिटल स्थानीय आर्थिक सर्वेक्षण र स्थानीय ई-मार्केटिङ परियोजना सञ्चालन गरिनेछ । यो परियोजनामा १ करोड ६५ लाख रुपैयाँ खर्च हुनेछ ।
त्यस्तै भोजपुरको षडानन्द नगरपालिकामा प्रविधिमा आधारित शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुशासनसहितको समृद्धिका लागि प्रविधि कार्यक्रममा १ करोड २६ लाख ७५ हजार रुपैयाँमा सञ्चालन हुनेछ ।
खोटाङको खोटेहाङ गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ६० लाख खर्च हुनेछ । लिखुपिके गाउँपालिकामा डिजिटल शिक्षा विकास र साक्षरता कार्यक्रम अन्तर्गत ७७ लाख ६० हजार खर्च गरिनेछ । यो कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी अन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम र स्थानीय पालिकाको साझेदारीमा हुनेछन् ।
यो कार्यक्रमले कोशी प्रदेशका ४ लाख ५ हजार ९ ४४ घरधुरी लाभान्वित हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यो परियोजनाको लागतमा पालिका र सरकारको साझेदारी हुनेछ ।
सम्झौता पत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले यो कार्यक्रमले कोशी प्रदेशमा समृद्धिको ढोका खोल्ने बताए । उनले नवप्रवर्द्धन परियोजनाका कार्यक्रमले आम नागरिकको समृद्धिमा सहयोग पुग्ने बताउँदै कोसेढुङ्गा ल साबित हुने उल्लेख गरे ।

संगालोखबर 

















