संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र कार्यरत निजामती कर्मचारीका लागि नयाँ पोसाक सम्बन्धी व्यवस्था लागू गरेको छ । प्रदेश राजपत्रमा ‘प्रदेश निजामती कर्मचारीको पोसाक सम्बन्धी कार्यविधि, २०८३’ प्रकाशित गर्दै सरकारले नयाँ व्यवस्था लागू गरेको हो ।

सो व्यवस्था अनुसार अब हप्ताको दुई दिन स्थानीय उत्पादनबाट बनेका पोसाक अनिवार्य लगाउनुपर्ने भएको छ । कार्यविधिअनुसार सामान्य अवस्थामा कर्मचारीले नेपाल सरकारले तोकेको नियमित निजामती पोसाक लगाउनुपर्नेछ । तर बुधबार र शुक्रबार भने स्थानीय उद्योगबाट उत्पादित कपडा तथा पोसाक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको हो ।

Advertisement

पुरुष कर्मचारीले स्थानीय उत्पादन प्रयोग भएको दौरा-सुरुवाल, कोट, ब्लेजर वा इस्टकोटसँग ढाका टोपी लगाउन सक्नेछन् । विकल्पका रूपमा स्थानीय उत्पादनकै कपडाबाट बनेको गाढा नीलो पाइन्ट र सेतो सर्ट पनि प्रयोग गर्न सकिनेछ ।

महिला कर्मचारीका लागि स्थानीय कपडाबाट बनेको सारी, ब्लाउज वा कुर्ता-सलवारलाई मान्यता दिइएको छ । स्थानीय उत्पादनको प्रयोग बढाउन प्रदेश सरकारले अतिरिक्त पोसाक भत्ता पनि दिने भएको छ ।

संघीय सरकारले उपलब्ध गराउँदै आएको नियमित पोसाक भत्ताबाहेक कोशी प्रदेश सरकारले थप ५ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि उक्त रकम आगामी असार १५ गतेभित्र वितरण गरिने जनाइएको छ ।

कार्यविधिले ‘स्थानीय उत्पादन’ भन्नाले कोशी प्रदेशभित्र रहेका साना तथा मझौला उद्योग वा कलकारखानाबाट परम्परागत सीप, श्रम र स्थानीय कच्चा पदार्थ प्रयोग गरी तयार गरिएका कपडालाई जनाएको छ । यो व्यवस्था स्थायी निजामती कर्मचारीसँगै कम्तीमा ६ महिनादेखि अस्थायी वा करार सेवामा कार्यरत कर्मचारीमा समेत लागू हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!