काठमाडौं, ७ कात्तिक। प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।
माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा अर्याललाई अदालतमा सशरीर उपस्थित हुन आदेश दिई न्याय प्रशासन ऐन बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ ।
साथै माओवादी नेता ढुंगेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायको समन्वयमा नेपाल प्रहरीभित्र उच्चस्तरीय टाक्सफोर्स गठनको आदेश पनि माग गरिएको छ ।
सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न ३१ चैत २९७३ मा आदेश दिएको थियो । तर, प्रहरीले ढुंगेललाई पक्राउ गर्न कुनै तत्परता नदेखाएको रिट निवेदकको जिकिर छ ।