सोलुखुम्बु, २९ असोज । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अबैध हातहतियार स्वेच्छाले प्रहरी कार्यालयमा बुझाउन सर्वसाधारणलाई आह्वान गरेको छ । पछिल्लो समय गोली प्रहारबाट दुई व्यक्ति घाइते भएपछि प्रहरीले अवैध हात हतियार जफत गर्ने प्रक्रिया अघि बढाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा सोलुखम्बु प्रहरीले हतियार बुझाउन आग्रह गरेको हो । अबैध हतियार दाखिला नगर्नेमाथि प्रहरीले सर्च अपरेशन सञ्चालन गरी कानुनी कारवाहीको प्रक्रिया थाल्ने डिएसपी रेशम पराजुलीले बताए ।
प्रहरीले यहि शनिबार दूधकौशिका गाउँपालिका ३, लोखिममा १३ वर्षीय बालक टंकराम राईलाई गोली प्रहार गरी घाइते बनाउने तीन जनालाई अवैध बन्दुक र गोली सहित पक्राउ गरेको छ । सो घटनापछि प्रहरीले अवैध बन्दुक सर्च अपरेसन चलाएको हो ।
लोखिम निवासी कमल राईका १३ वर्षीय छोरा टंकराम गोठमा बस्दै आएको र गोठ नजिकै ओखर टिप्न गएको बेला उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । सो घटनालगत्तै सोताङबाट खटिएको प्रहरी टोलीले घाइते बालकको उद्दार गरी उनकै बयानका आधारमा अभियुक्त पक्राउ गरेको डिएसपी पराजुलीले बताए ।
फक्राउ पर्नेमा ३१ वर्षीय धनवहादुर तामाङ, २० वर्षीय बुद्धलाल तामाङ र ४२ वर्षीय असना तामाङ छन् । धनबहादुरको घर खानतलासी गर्दा भरुवा बन्दुक र सिसाको गोली आधा किलो बरामद भएको पराजुलीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई झिकाइ ज्यान मार्ने उधोग र अबैध हातहतियार खरखजना मुद्दामा कार्वाही चलाइने उनले बताए ।
घाइते बालकलाई थप उपचारका लागि फाप्लुबाट काठमाडौं पठाइएको छ ।
यसअघि पनि सोलुदूधकुण्ड नगरपालिकका १० का पासाङ तामाङ अवैध बन्दुकसहित पक्राउ परेका थिए । उनले पत्नीलाई बन्दुक देखाई तर्साएपछि पक्राउ गरिएको डिएसपी रेशम पराजुलीले जानकारी दिए ।
पराजुली जिल्ला कमाण्ड गर्न आएपछि उनले गुण्डागर्दी, अवैध हतियार र मानव बेचबिखन तथा चोरी लुटपाटका घटना विरुद्ध अभियान चलाएका छन् ।-अनलाइनखबर