काठमाडौं, २९ असोज । वाम गठबन्धनबाट बाहिरिएको नयाँ शक्ति पार्टी नेपालले कांग्रेससँग परामर्श सुरु गरेको छ ।

Advertisement

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । यो भेटमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा तालमेलबारे छलफल भएको स्रोतले बताएको छ ।

भट्टराईले गोरखा २ बाट चुनाव लड्न चाहेका छन् । तर, आफ्नो नाममा सहमति नजुटेपछि भट्टराई एमाले र माओवादी केन्द्रको गठबन्धनबाट बाहिरिएका थिए ।

स्रोतका अनुसार नयाँ शक्तिका नेता भट्टराईले गोरखा २ मा कांग्रेससँग तालमेल गर्न प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री देउवाले पनि सकारात्मक जवाफ दिएका छन् । ‘गोरखा २ मा भट्टराईलाई समर्थन गरेपछि अन्य जिल्लामा उहाँले हामीलाई समर्थन गर्ने भन्ने छ,’ कांग्रेसका एक नेताले भने, ‘कुराकानी सकारात्मक छ । तर, टुंगो भइसकेको छैन ।’

कांग्रेसका नेता चिनकाजी श्रेष्ठले गोरखा २ मा भट्टराईलाई समर्थन गर्ने सम्भावना रहेको स्वीकार गरे ।

नेतृ कमला पन्तले भने गोरखा २ बाट आफू चुनाव लड्ने तयारीमा रहेको बताइन् । ‘०५१ सालदेखि मैले नेतृत्व गर्दै आएको क्षेत्र हो । अहिले सुरेन्द्र पाण्डे र अब्दुल सतारसहित तीन जनाको नाम सिफारिस भएको छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘हामीसँग सल्लाह नै नगरी पार्टीले निर्णय गरे विरोध गर्छु ।’

वाम गठबन्धनबाट भने माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्ने तयारीमा छन् ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!