
विराटनगर । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा उदयपुरको बेलका नगरपालिकाका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती र छोरीको विभत्स हत्या गरेका छन् ।
उनले सोमबार बिहान १० इन्च लामो धारिलो हतियारले अन्धाधुन्ध प्रहार गरी श्रीमती र छोरीको हत्या गरेका हुन् । अमेरिकाबाट सञ्चालित खसोखास अनलाइनका अनुसार बिहान करिब ५ः१५ बजे पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा घटना भएको हो ।
छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले झगडा भएको आवाज सुनेर घरभित्र पस्दा आफ्नी श्रीमती ३१ वर्षीया ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रक्ताम्मे अवस्थामा फेला पारेका थिए । उनीहरूको मृत्यु भइसकेको छ । छत्रबहादुरले ज्वाइँ सन्तोषमाथि पनि हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको समाचारमा उल्लेख गरिएको छ ।
पटक-पटक हतियार फाल्न दिएको आदेश नमानेपछि प्रहरीले गोली चलाउँदा छत्रबहादुरको घटनास्थलमै मृत्यु भएको छ । घरमा रहेका एक वर्षीय शिशु भने सुरक्षित रहेका छन् ।
अनुसन्धानका क्रममा यो परिवारको यसअघि कुनै आपराधिक पृष्ठभूमि वा प्रहरीमा उजुरी नभएको पाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 















