विज्ञानको कोखबाट जन्मिएर पनि
आजको मान्छे ढुङ्गेयुगतिर फिर्छ !
कामुक युवतीको पोस्टरझैँ आफ्नो परिचय
सडकका भित्ता-भित्तामा टाँस्छ
अर्धाङ्गिनी झैँ हिँड्छ र इमान कमाउँछ ।
र मान्छेले मान्छेलाई भन्छ
म भगवानको पूजा गर्छु !

आजको मान्छे
बुद्धकै सालिक जलाएर शान्तिको साधना गर्छ !
कानूनकै धज्जी उडाएर न्यायको प्रार्थना गर्छ !
र, मन्दिरको देवतालाई फूलपाती चढाएर
मान्छेले भन्छ– ‘भगवान् म तिम्रो भक्त हुँ !’

आजको मान्छे
आफैँले पालेको बोको काटेर मन्दिरको पूजा गर्छ !
रगतको बलि चढाएर न्यायको उपासना गर्छ !
परेवाको टाउको छिनालेर शान्तिको बदख्वाइँ दिन्छ !

आजको मान्छे
अन्याय आफू गर्छ र न्यायको भिख माग्छ !
आजको मान्छे
आमालाई मारेर आमाकै माया खोज्छ !
जीवनदातालाई कुल्चेर नयाँ जीवनको संकल्प गर्छ !
जिन्दगीलाई आफू धोका दिन्छ
र जिन्दगीलाई धोकेबाजको आरोप लगाउँछ !
भाइ-भाइमा युद्ध गर्छ र विश्वबन्धुत्त्वको पाठ सिकाउँछ !
र, अन्तिममा
भगवानलाई चढाएको त्यही टाउको पनि भड्डुमा उसिन्छ
र एक डबका जाँडका लागि सितन बनाउँछ !
मातुन्जेल पिउँछ र मगज सडेको ठिटोझैँ
मध्यराति सडकमा निस्किएर
आफ्नै नाममा मुर्दावादको नारा लगाउँछ !
आजको मान्छे
कामुक युवतीको पोस्टरझैँ आफ्नो परिचय
सडकका भित्ता-भित्तामा टाँस्छ
अर्धाङ्गिनी झैँ हिँड्छ र इमान कमाउँछ !

बेदनाथ ढकाल
अरुण गाउँपालिका-५, भोजपुर 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!