- रबिन कटेल/संगालोखबर

धनकुटा, २७ असोज । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै आज जुलुश प्रदर्शनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ । बजार ब्यावस्थापन समितिको अगुवाईमा धनकुटा बजारमा जुलुश प्रदर्शन गर्दै क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको हो ।

ब्यानरसहित स्थानीय मदनचौकबाट सुरु भएको जुलुश हुलाकटोल, परिचयमोड, वीचबजार, भीमनारायण चौक हुँदै ज्ञापनपत्र बुझाउँन जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

Advertisement
प्रादेशिक राजधानी माग गर्दै धनकुटा बजारमा निश्किएको जुलुश । तस्वीर: संगालोखबर

प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीलाई राजधानी मागसहितको ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री समक्ष पुर्याउँन अनुरोध गरेको हो ।

त्यस्तै क्षेत्रीय प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ । क्षेत्रीय प्रशासकलाई कार्यालयमा नभेटेपछि कार्यालयका लेखा अधिकृत नरबहादुर भुजेललाई बजार ब्यावस्थापन समितिका अध्यक्ष विप्लप श्रेष्ठले ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी उप्रेतिलाई ज्ञापनपत्र हस्तान्तरण गरिदै । तस्वीर: संगालोखबर

हरेक हिसावले धनकुटानै राजधानीका लागि उपयुक्त भएपनि त्यसलाई वेवास्ता गर्दै अन्यत्रै राजधानी तोक्ने सड्यन्त्र भईरहेको भन्दै जिल्लाबासीले आजबाट आन्दोलन सुरु गरेका हुन ।

पहिले देखिनै प्रशासनिक केन्द्र हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई राजधानी बनाउँनका लागि जिल्लाबासीले आन्दोलन थालेका हुन ।

क्षेत्रीय प्रशासन कार्यालयका लेखा अधिकृत भुलेललाई ज्ञापनपत्र हस्तान्तरण गरिदै । तस्वीर: संगालोखबर

१ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्रभागमा रहेको, पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यावस्था भएको लगायत कारणले धनकुटालाई नै प्रादेशिक राजधानी बनाईनुपर्ने जिल्लाबासीको माग छ ।

धनकुटाबासीले यसअघि पनि १८ दिनसम्म बजार बन्द गरी राजधानीका लागि आन्दोलन गरेका थिए ।

ज्ञापनपत्र हस्तान्तरण पश्चात सामुहिक तस्वीर खिचाईदै । तस्वीर: संगालोखबर

हरेक हिसावले धनकुटानै राजधानीका लागि उपयुक्त रहेकाले कुनै पनि हालतमा अन्य स्थानमा राजधानी नस्वीकारने अडानसहित धनकुटाबासी पुनः आन्दोलनमा उत्रिएका हुन । उनीहरुले अव दैनिक आन्दोलनका गतिबिधि गर्ने जनाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!