Sangalo Khabar

गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा लागि जमुना गुरुङको अन्तिम समयमा आएर  भएको उम्मेदवारी घोषणाले विश्व सम्मेलनको अंक गणित शुरु भएको छ ।

Advertisement

गुरुङले उम्मेदवारी दिने / नदिने अन्यौलका विच विहिवार अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिन् । आफ्ना सर्मथकहरुले खचाखच भरिएको हलमा गुरुङले उम्मेदवारी घोषणा गर्दैगर्दा अध्यक्षका अर्का प्रत्यासी भवन भट्टले पनि आफ्नो तयारीलाई तिव्र पारिरहेका थिए ।

गुरुङको उम्मेदवारी घोषणालाई धेरैले अप्रत्यासित रुपमा लिएका छन् । अध्यक्षका अर्का उम्मेदवार भट्टले एक महिना अगाडि उम्मेदवारी घोषणा गर्दा उनकै पक्षमा नतिजा आउने आंँकलन गरिएको थियो । तर, विहीवारको गुरुङको उम्मेदवारीले आठौं विश्व सम्मेलनको नतिजा कस्को पक्षमा होला अनुमान लगाउन गाह्रो भएको छ ।

गुरुङले जित्ने अवस्थामा उम्मेदवारी दिएको अनुमान 
उपाध्यक्ष भवन भट्ट र टिबी कार्कीले उम्मेदवार घोषणा गरेर आफ्नो पक्षमा नतिजा पार्न प्रचारप्रसारमा जुटिरहँदा घले दम्पती युरोप भ्रमणमा थिए ।

घले दम्पतीको युरोप भ्रमण आफ्नो औकातको मूल्यांकन गर्न पनि थियो । उक्त भ्रमणले घले दम्पतीलाई हौसला प्राप्त गरेपनि उम्मेदवारीको निक्र्यौल त्यहाँ गरिनन् ।

कतिपयले गुरुङले वेलायतबाट नै उम्मेदवार घोषणा गर्ने अनुमान गरेका थिए । युरोप भ्रमणबाट फर्केपछि पनि गुरुङले उम्मेदवारीको टुङ्गो लगाउन सकेकी थिइनन् ।

अन्तिम समयमा भएको गुरुङको उम्मेदवारीले नतिजा उनको पक्षमा पर्ने सम्भावनाले नै उम्मेदवारी दिएको बताईएको छ । सम्मेलनका एक प्रतिनिधीका अनुसार मंगलवारसम्म उनको उम्मेदवारी दिने सोँच थिएन ।

प्रतिनिधीहरुको दवावको आशय गुरुङले जारी गरेको वक्तव्यमा पनि झल्किन्छ । ‘विश्वभरिबाट आउनुभएका एनआएनए डेलिगेट्सहरुको आग्रह एवं गैर आवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई ध्यान दिदै उम्मेदवारी दिने निर्णय गरेकी छु,’ वक्तव्यमा उल्लेख छ ।

नतिजा कस्को पक्षमा जाला? 
सर्वसहमतीको सम्भावना सकिएको अवस्थामा अव मुलतः भट्ट र गुरुङको तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । घले दम्पतीले वेलायत भ्रमणबाट आफ्नो पक्षमा मत वलियो रहेको ठहर गरेका थिए ।

विशेषतः वेलायत, अमेरिका र अष्ट्रेलियाका सम्मेलन प्रतिनिधीहरुको अन्तिम समयमा भएको जोडबलका कारण गुरुङले उम्मेदवारी दिएको बुझिएको छ ।

उनका समर्थकले गुरुङलाई उठाउन गरेको हरसम्भव  प्रयत्नको आशय घोषणा सभामा शेष घलेले दिएको अभिव्यक्तिबाट पनि वुझ्न सकिन्छ । आफूले उम्मेदवारी दिने सोंच बनाउन आठ महिना लागेको बताए । उनले भने ‘गुरुङको उम्मेदवारीको निर्णय दुई दिनमा गरिएको हो ।’

गुरुङलाई वेलायत, अष्टे«लिया र अमेरिकाबाट बढि मत पर्ने देखिएको छ । जनजातिहरुको अधिकांश मत पनि घलेको पक्षमा पुग्ने सम्भावना छ । नेपाली काङ्ग्रेस

निकटका केहि उम्मेदवार गरुङको पक्षमा रहेकोले काङ्ग्रेस समर्थक धेरै मत उनलाई पर्नसक्छ । गुरुङको उम्मेदवारी घोषणा सभामा एआरएनएकी प्रवक्ता रञ्जु वाग्ले थापाले गुरुङको खुलेर प्रशंसा गरिन् ।

नेपाली काङ्ग्रेस समर्थक रहेका थापा, उपाध्यक्ष र महासचिवको उम्मेदवार क्रमशः सोनाम लामा र त्रिलोक गुरुङको जमुना गुरुङलाई बलियो समर्थन छ । नेपाली काङ्ग्रेस निकटका उम्मेदवारहरुको समर्थनका कारण काङ्ग्रेस नजिकका मत गुरुङलाई पर्ने देखिन्छ ।

दुई कार्यकाल अध्यक्ष रहेका उनका पतिको ‘व्याज’ प्राप्त हुने पनि धेरैको वुझाई छ । श्रीमानको कार्यकाल र उनको उम्मेदवारीमा सम्वन्ध नरहेको गुरुङले बताईन् । उनले भनिन् ‘महिला सक्षम छन् ।’

संस्थापक उम्मेदवार उपेन्द्र महतो र संरक्षक जिवा लामिछानेको सर्मथनका कारण अध्यक्षका अर्का प्रत्यासी भवन भट्टलाई कम आंकलन गर्न सकिन्न । भट्टलाई उपाध्यक्षका बलियो प्रतिस्पर्धी कुमार पन्तको साथै महासचिवका उम्मेदवार वद्रि केसीको पनि समर्थन छ ।

एसियाका जापान,मलेशिया ,मध्यपुर्वका खाडी मुलुकहरु साथै रसिया र जर्मनीका अधिकांश मत भट्टलाई पर्ने सम्भावना छ ।  अध्यक्षको दौडमा टिवी कार्की धेरै पछि पर्ने अनुमान गरिएको छ ।
आ–आफ्नो तयारी 
विहिवार एकातिर गुरुङको घोषणा सभा हुँदै थियो भने अर्कोतर्फ भट्टलाई जिताउन नागपोखरीमा उनि समर्थकहरुको गोप्य भेला थियो । जहाँ जापानमा रहेका गैर आवासीय नेपालीहरु सहभागि भएका थिए । विहिवार नै भट्टले आफ्नो उम्मेदवारी कारण र प्रतिवद्धताहरु रिपोर्टस क्लवमा बताएका थिए ।

मत आफ्नो पक्षमा तान्नका लागि व्यक्ति –व्यक्ति भेट,वैठक तथा कोठे छलफल जारी रहेको छ ।
विहिवार सामाखुसीमा एक पक्षले आफु समर्थितहरुको गोप्य भेला गरेको थियो भने नेपाली काङ्ग्रेस समर्थित एनआएन प्रतिनिधीहरुलाई बसुन्धरामा चियापान कार्यक्रम राखिएको थियो ।

भिजन २०–२० एण्ड वियोण्डमा स्पष्ट दुई धार 
वर्तमान अध्यक्षले अघि सारेको भिजन २०–२० एण्ड वियोण्डका पक्षमा अध्यक्षकी प्रत्यासी गुरुङ खुलेर लागेकी छन् भने पुर्व अध्यक्ष जिवा लामिछाने र वर्तमान महासचिव बद्रि केसी विरोधमा छन् ।

गुरुङद्धारा जारी प्रेस वक्तव्यमा ‘संस्थाको मार्ग निर्देशक दृष्टिकोण भिजन २०–२० एण्ड वियोण्डलाई सफल कार्यान्वयन गर्न’उम्मदवारी दिएको उल्लेख छ । तर वर्तमान महासचिव बद्रि केसीले भिजन २०–२० एण्ड वियोण्ड कार्यान्वयन भयो भने संस्थानै धरापमा पर्ने जिकिर गरेका छन् ।

सन् २००३ गैर आवासीय नेपाली संघ स्थापना भएको समय बनाइएको मार्गदर्शक  दृष्टिकोण एक्सपायर भएकोले नयाँ अवधारणा ल्याइएको गुरुङको दावी छ । एनआएनए भन्दा बाहिरबाट ल्याइएका व्यक्ति मार्फत तयार गरिएको दृष्टिकोण मान्य नहुने अर्को पक्षको राय छ ।

दुई हजार बढि सम्मेलन प्रतिनिधीहरुमा करिव एक हजार छ सय प्रतिनिधीहरु सम्मेलनका लागि राजधानी आएका छन् । उक्त आंकडा अनुसार जित्नलाई आठ सय मत आवश्यक पर्ने देखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement