
धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने क्रममा धनकुटामा विवाद भएको छ । सहमति गर्ने भनेर उम्मेद्वारी फिर्ता लिन लगाई एमाले केन्द्रिय सदस्य राजेन्द्र राई पक्षले विधि विपरित मतदान गराउन खोजेको भन्दै नेता इन्द्रमणि पराजुली पक्षले विरोध जनाएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि प्यानलसहित उम्मेद्वारी दर्ता गराएको सो समूहले आज धनकुटामा पत्रकार सम्मेलन गरेर गुटको स्वार्थका लागि विधि विपरित गर्न लागिएको चुनाव मान्य नहुने चेतावनी दिएको हो । एमाले महालक्ष्मी नगर कमिटीले निर्वाचन बहिष्कारको घोषणा पनि गरेको छ ।
पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य इन्द्रमणि पराजुलीले सहमति गर्ने भनेर अधिकांश उम्मेदवारलाई मनोनयन फिर्ता लिन लगाई उम्मेद्वार र पार्टी सदस्य मतदाताहरूलाई थाहै नदिई गुटगत हिसाबमा मतदान प्रकृया थालिएको भन्दै आपत्ती जनाए । चाउचाउका कार्टुनमा मत खसाल्ने काम भइरहेको भन्दै उनले यस्तो चुनाव निष्पक्ष हुनै नसक्ने दावी गरे ।
गुट मजबुत बनाउने र पार्टी कमजोर बनाउने हिसाबमा षड्यन्त्र गरिएको भन्दै उनले यस्तो मतदान प्रकृया अमान्य हुने धारणा राखे । ‘४ जना हामीलाई र ९ जना अर्को पक्षलाई प्रतिनिधि दिने गरी इन्चार्ज राजेन्द्र राईसँग सल्लाह भएको थियो, त्यही अनुसार बाँकी सबैले उम्मेद्वारी फिर्ता लिइयो, अन्तिममा त्यही पनि नदिने र मतदान गर्ने भनेर रातारात मतदान प्रकृया थालिएछ,’ उनले भने, ‘उम्मेदवारलाई थाहै छैन, मतदातालाई पत्तै छैन, अहिले चाउचाउका कार्टुनमा भोट खसालिँदै छ । यस्तो विधि विपरित मनोमानी हिसावमा गरिएको मतदान मान्य हुने छैन । सरसल्लाह र सहमतिका आधारमा अघि बढ्नुपर्छ, मतदान नै गर्ने हुँदा विधिसम्मत हुनुपर्छ ।’
महालक्ष्मी नगर कमिटी अध्यक्ष कमल कार्कीले पालिका कमिटीलाई आधिकारिक जानकारी नै नगराई गुटका उम्मेदवारलाई जिताउन चुनावी प्रकृया थालिनु गलत भएको दावी गरे । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य सकुन्तला बस्नेतसहित एमाले नेताहरू चन्द्र बस्नेत, मञ्जु अधिकारी, बलदीप राई, निरेन तामाङ, तारा तितुङ लगायत सहभागि थिए ।
यता, राजेन्द्र राई पक्षले भने लामो समयसम्म प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका अनुसार मतदान प्रकृया अघि बढाइएको दावी गरेको छ । यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट हुनेछन् । जसमध्ये दलित कोटाबाट एक जना सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
















