काठमाडौं,२४ असोज । भारतीय जेलमा रहेका अनिष नारायण मुखिया, निशान सिंह, वाकिल लगायतले भरियालाई नेपाल पठाउँथे। नेपालमा रहेका दर्जबहादुर तामाङले अफिम, चरेसलगायत लागु औषध संकलन गर्थे र तीनै भरियाको जिम्मा लगाएर भारत पठाउँथे। भारतमा पुगेपछि उक्त लागु औषध ब्राउन सुगर, ह्वाइट सुगरलगायत महँगा लागु औषध कच्चा पर्दाका रुपमा प्रयोग हुन्थ्यो।

प्रहरीको लागु औषध नियन्त्रण ब्युरो (एनसीबी)ले ठूलो परिमाणसहित पक्राउ गरेका ३६ वर्षीया दर्जबाट यस्तो रहस्य पत्ता लगाएको हो। एनसीबीका अनुसार दर्ज नेपालका ठूला लागु औषध डिलर हुन्।

Advertisement

प्रहरीले उनको पक्राउलाई ‘क्वान्टिटेटिभ भन्दा पनि क्वालिटेटिभ एरेस्ट’ भनेको छ। एनसीबीले दर्ज र उनका सहयोगी राजकुमार मोक्तानबाट दुर्इ केजी अफिम र २२ केजी चरेस बरामद गरेको छ। धादिङ घर भएका ३६ वर्षीय दर्ज र मकवानपुर घर भएका ३६ वर्षकै राजकुमार मकवानपुरमा बसेर लागु औषधको डिलर सन्चालन गर्थे।‘

उनीहरुबाट बरामद भएको लागु औषध भारत पुर्‍याउनका लागि तयार गरेको देखिन्छ। भारतमा पुगेपछि यी लागू औषध ब्राउन सुगर र ह्वाइट सुगर बनाउने गरेको अनुसन्धानबाट देखिएको छ’, एनसीबी प्रमुख डीआईजी ठूले राईले भने।

एनसीबीले करिब तीन महिनाको प्रयासपछि दर्जलाई पक्राउ गर्न सफल भएको हो। स्रोतका अनुसार एनसीबीले नै स्टिङ अप्रेसन गरी दर्जलाई नियन्त्रणमा लिन सफल भएको हो।

‘हामीले तीन महिनादेखी उनको निगरानी गरिरहेका थियौं। तीन महिनाअघि नै हामी उनको सम्पर्कमा पुगेका थियौं तर त्यतिबेला उनीसँग लागु औषध भेटिएन।

उनी निकै चलाख देखिन्छन्। डिल गर्दा पनि उनी हत्तपत्त लागु औषध देखाउँदैनन्। उनको साथमा लागु पदार्थ भेटिन लामो समय लाग्यो’, एनसीबी स्रोतले भन्यो।

मकवानपुरमा होटल ब्यवशाय गरिरहेका राजकुमारले आफ्नै होटल कोठाबाट लागु पदार्थ बेचबिखन गर्थे। स्रोतका अनुसार बरामद भएको अफिम मकवानपुरबाट र चरेस धादिङमा संकलन गरिएको अभियुक्तले बताएका छन्।-अन्नपूर्णपोष्ट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!