काठमाडौं,२४ असोज । वामपन्थी गठबन्धनको नेतृत्व गरेको नेकपा एमालेले आफ्ना सबै शीर्षनेताहरुलाई प्रत्यक्ष चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ ।

Advertisement

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित मूल नेतृत्व प्रत्यक्ष उम्मेदवार बन्ने निर्णय गरेको हो ।

बैठकमा सबै शीर्षनेताहरु प्रत्यक्ष उम्मेदवार बन्दा देशभरिको समन्वय गर्ने नेता नहुने र सबै क्षेत्रमा समान ध्यान नपुग्ने केही नेताले कुरा उठाएको स्रोतले जनाएको छ । समन्वयका लागि केही नेता समानुपातिकमा बस्नुपर्ने कतिपय नेताले मनसाय व्यक्त गरेका थिए । तथापि बैठकले सबै शीर्ष नेता प्रत्यक्ष चुनावमा होमिने निर्णय गरेको छ ।

ओलीको कमाण्डमा परिचालन कमिटी

स्थायी कमिटी बैठकले देशभरिको समन्वय गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको बैठकपछि सचिव गोकर्ण विष्टले बताए ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संयोजन तथा परिचालन कमिटीको नेतृत्व पनि अध्यक्ष ओलीले नै गर्ने निर्णय लिएको छ । सचिव बिष्टका अनुसार ओलीनै केन्द्रीय निर्वाचन परिचालन तथा संयोजन समितिको संयोजक हुनेछन् ।

यसअघि बैठकमा प्रत्यक्ष चुनाव नलड्ने कुनै शीर्ष नेताले निर्वाचन परिचालन तथा संयोजन समितिको नेतृत्व गर्ने कुरा उठेको थियो । तर, सबै शीर्षनेता चुनाव लड्ने भएपछि अध्यक्षकै कमाण्डमा पार्टीले निर्वाचन अभियान चलाउने सहमति भएको हो ।

जनमतको हिसाबले पनि अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ सुरक्षित रहेकाले उनले अधिकांश समय राजधानीबाटै निर्वाचन परिचालन गर्नेछन् । निर्वाचन परिचालन तथा संयोजन समितिमा प्रत्यक्ष चुनाव नलड्ने दोस्रो र तेस्रो तहका नेताहरु खटिनेछन् ।

शीर्षनेता को कहाँबाट उम्मेवार ?

एमालेका प्रायः सबै शीर्ष नेताहरुको निर्वाचन क्षेत्र तय भइसकेको छ । अध्यक्ष ओलीको नाम झापा ५, सुनसरी ३ र सिराहा १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस आए पनि उनी गृहजिल्ला झापा ५ बाटै उम्मेदवार बन्ने निधो भइसकेको छ ।

त्यस्तै बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट चुनाव लड्नेछन् ।

अर्का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहट १ र ४ बाटसमेत सिफारिस भए पनि उनी काठमाडौं २ बाट चुनाव लड्ने भएका छन् ।

बरिष्ठ उपाध्यक्ष बामदेव गौतमको नाम बर्दिया १ र प्युठानबाट सिफारिस भएको छ । गौतम बर्दियाबाटै चुनाव लड्ने भएका छन् । अर्का उपाध्यक्ष भीम रावलको नाम अछाम १ र कैलाली २ बाट सिफारिस भएकोमा उनले अछाम १ रोजेका छन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं ९ बाट उम्मेदवार बन्नेछिन् भने अर्का उपाध्यक्ष युवराज ज्ञवालीको नाम दाङ ३ बाट सिफारिस भएको छ ।

अहिले समानुपातिक सांसद रहेका ज्ञवाली प्रत्यक्ष चुनाव नलड्ने सम्भावना रहेको एमाले नेता बताउँछन् ।

महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बन्नेछन् । उपमहासचिव बिष्णु पौडेल रुपन्देही ३ बाट उम्मेवार बन्ने निश्चित भइसकेको छ भने अर्का उपमहासचिव धनश्याम भुसालको नाम रुपन्देही १ र २ बाट सिफारिस भएको छ ।

सचिवहरुमध्ये प्रदीप ज्ञवाली र गोकर्ण विष्ट क्रमशः गुल्मी १ र २ बाट उम्मेदवार बन्नेछन् । योगेश भट्टराई ताप्लेजुङ र पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार सिफारिस भइसकेका छन् ।

अर्का सचिव भीम आचार्य भने सुनसरीबाट प्रदेशसभाको उम्मेदवार बन्ने भएका छन् । उनी मुख्यमन्त्रीको दाबेदार भएकाले प्रदेशसभामा भिड्न लागेका हुन् ।

स्थायी कमिटी सदस्यमध्ये शंकर पोखरेल दाङ २, सुरेन्द्र पाण्डे चितवन १ र छविलाल विश्वकर्मा रुपन्देही १ बाट उम्मेदवार बन्दैछन् । स्थायी कमिटी सदस्यहरुमध्ये मुकुन्द न्यौपाने, डा.पुष्प कँडेल, अमृत बोहोरा, केशव बडाल र सोमनाथ प्यासी अधिकारी भने प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने एमाले स्रोतले बतायो ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!